नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’बिक्री गर्न लागेको शुक्रबार एक सूचनामार्फत जनाएको हो।
बोलकबोल प्रक्रियाबाट बिक्रीहुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी,गैरबैङ्क वित्तीय संस्था,सङ्गठित संस्थातथा नेपाली नागरिकले राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सक्ने बताइएको छ।
ऋणपत्र खरिदका लागि इच्छुक खरिद कर्ताले प्रतिस्पर्धा र विना प्रतिस्पर्धा पनि सहभागी हुन सक्ने छन्। तर,राष्ट्र बैंकले प्रतिस्पर्धी खरिद कर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड रुपैयाँ छुट्याएको छ। विना प्रतिस्पर्धा किन्न चाहनेका लागि भने १५ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रुपैयाँ छुट्याइएको राष्ट्र बैङले जनाएको छ।
खरिद कर्ताले ऋणपत्र धितो राखेर कर्जा लिन र दिनपाउने व्यवस्था छ। ऋण पत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मार्फत मात्र हुन्छ। इच्छुक लगानी कर्ताले भदौ २४ गते आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेस गर्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ।
ऋण पत्रमा न्यूनतम ५० हजार र बढीमा निष्कासित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म माग गर्न सकिने सूचनामा उल्लेख गरिएको छ। ऋणपत्र भदौ २५ गते सोमबार निष्कासन हुनेछ भने यसको साँवा भुक्तानी २०८६ भदौ २५ गते हुने राष्ट्र बैङ्कले जनाएको छ।





























प्रतिक्रिया