नेप्सेमा सर्किट ब्रेक, कारोवार स्थगन

नेप्सेमा सर्किट ब्रेक, कारोवार स्थगन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ ।

गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो । त्यसअघि गत वैशाखको दोस्रो साता समेत बजार दुई दिनका लागि खुला गरिएको थियो । लगातार ओरालो लागेपछि बजार पुनः बन्द गरियो । यही असार १४ गते आइतबार बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय ग¥यो । स्टकका अनुसार सोमबार बजार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको थियो ।

बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगायो र आजका लागि कारोबार स्थगन भएको जनाएको छ । स्टकका अनुसार कूल ७२.०५ बिन्दुले बजार उकालो लागेको छ । प्रतिशतका आधारमा ६.०६ ले नेप्से बढोत्तरी भएको छ । नेप्सेमा देखिएको उच्च सुधारसँगै बजार एक हजार २६०.७५ मा पुगेको छ । कोरोना कहरपछि बजारमा उच्च बिन्दुले सुधार भएको हो । यस्तै सेन्सेटिभ परिसूचक समेत १५.६३ विन्दु अर्थात ६.१० प्रतिशतले बढेको छ ।

कूल १३४ कम्पनीको चार लाख ८९ हजार ५३७ कित्ता शेयर रु २२ करोड ७२ लाख १२ हजार १९४ ले कारोबार भयो । स्टकले नेप्से पाँच प्रतिशत बढीले वृद्धि भएका कारण आजको कारोबार स्थगन भएको जनाएको छ । कारोवार शुरु भएको करिब एक घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो । दोस्रो पटक बजारमा पाँच प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो । तेस्रो पटक छ प्रतिशतले नेप्से बढे पनि कारोबार आजका लागि बन्द भयो ।

Skip This
Skip This
Logo