बैंक वित्तीय संस्थाको नाफा १० अर्ब

बैंक वित्तीय संस्थाको नाफा १० अर्ब

केन्द्रबिन्दु
0
Shares

चालु आर्थिक वर्षको साउन महीनामा बैंक तथा वित्तीय संस्थाले साढे १६ अर्ब रुपैयाँ कर्जा घट्दा पनि १० अर्ब रुपैयाँ भन्दा धेरै नाफा कमाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा बैंक वित्तीय संस्थाबाट १६ अर्ब ६७ करोड ३० लाख रुपैयाँले कर्जा घटेको छ। गत आर्थिक वर्षको अन्तिममा ४८ खर्ब ७३ अर्ब ८० करोड कर्जा लगानी रहेकोमा चालु आर्थिक वर्षको साउन महिनामा घटेर ४८ खर्ब ५७ अर्ब १३ करोड रुपैयाँमा झरेको छ ।

आर्थिक गतिविधि सुस्त भएसँगै कर्जाको मागमा सुधार नभएको मात्र नभई पुरानो कर्जा समेत घटेको अवस्थामा पनि बैंक वित्तीय संस्थाले खुद नाफा भने बढाएका हुन्। चालु आर्थिक वर्षको साउन महीनामा बैंक तथा वित्तीय संस्थाले १० अर्ब २२ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेका छन्।

यो नाफा गत आवको सोही अवधिको तुलनामा करिब ३ प्रतिशतले धेरै हो। गत आवको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९३ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेका थिए।

गत आर्थिक वर्षको साउन महिनामा भने बैंक वित्तीय संस्थाको कर्जा लगानी बढेको थियो। गत आवको साउन महीनामा बैंक तथा वित्तीय संस्थाले ९ अर्ब ९४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी बढाएका थिए। गत आवको साउन अन्तिमसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा ४७ खर्ब १८ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ८ अर्ब ५२ करोड ५० लाख रुपैयाँ रहेको छ। यो नाफा लगत आवको सोही अवधिको तुलनामा ५.६७ प्रतिशतले थोरै हो।

गत आवको साउन महिनामा वाणिज्य बैंकहरुले मात्रै ९ अर्ब ३ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थिए। गत आवको साउन महिनामा सञ्चालनमा रहेका वाणिज्य बैंकको संख्या २६ रहेको थियो भने चालु आवमा उक्त संख्या घटेर २० वटामा झरेको छ।

Logo