काठमाडौं ।
सरकारले लकडाउन गरेको तीन महिना बितिसक्दा पनि सार्वजनिक यातायात संचालनको टुंगो लागेको छैन । कोरोनाका कारण लामो समयसम्म थन्किएका सार्वजनिक सवारी साधन संचालन गर्न आर्थिक पक्षको टुंगो नलाग्दा कहिलेसम्म संचालन हुन्छन् भन्ने अन्योल भएको छ ।
लामो समय सवारी साधन ग्यारेजमा थन्किँदा खिया लागेर मर्मत नगरी संचालन गर्न नसक्ने अवस्थामा पुगेका छन् । त्यस्ता खिया लागेका सवारी साधन मर्मतका लागि व्यवसायीले पुनर्कर्जा मागिरहेका छन् । ‘आर्थिक पक्षका बारेमा यातयात मन्त्री ज्यु र यातायात विभागलाई लिखित तथा मौखिम रुपमा जानकारी गराएका छौँ ।’ यातायात व्यससायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँरले भने । सवारी साधन मर्मत गर्न पुनर्कर्जा, भाडादर, श्रमिकहरुको खर्च, पेट्रोलियमको खर्च र गाडीधनीलाई खान पुग्ने गरी सरकारले व्यवस्था गर्न सके सवारी बाटोमा निकाल्न तयार रहेको वरिष्ठ उपाध्यक्ष स्वाँरले बताए । ‘ती खर्चको छिनोफानो लागेपछि मात्रै सार्वजनिक सवारी साधन संचालन हुन सक्छन् ।’ उनले भने ।
व्यवसायीले अहिले नाफा नखोजी रोजीरोटीको लागि मात्रै संचालन गर्नुपर्ने बाध्यता रहेको उपाध्यक्ष स्वाँरको भनाइ थियो । ‘नाफा होइन खर्च पुग्नु प¥यो, पुरानै भाडामा पनि मिल्छ भने चलाउन तयार छौँ ।’ स्वाँरले भने । २०६६ साल यता वैज्ञानिक भाडा दर समायोजन भएको छैन । त्यसैले सरकारले नयाँ भाडादर वैज्ञानिक रुपमा तोक्नु आवश्यक रहेको उनको भनाइ छ । अहिले यातायात क्षेत्रमा ३ लाख ५० हजारको हाराहारीमा सार्वजनिक सवारी साधनहरु संचालनमा छन् । जसमा ६० प्रतिशत स्वरोजगार छन् । व्यवसाय ठप्प हुँदा उनीहरुको घर चल्नै समस्या भएको छ । ती बेरोजगारको भविष्य के हुन्छ भन्ने चिन्ता व्यवसायलाई छ ।
सरकारले सार्वजनिक यातायात संचालन गर्न सरकारले कार्यविधी बनाएको छ । सो कार्यविधी पास पाएको त छैन । तर सामाजिक दुरी कायम गरी स्वास्थ्य सम्बन्धी उपाय अपनाउँदै कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेको छ । लकडाउन हटाएको भोलिपल्टदेखि नै सो कार्यविधी कार्यान्वयनमा आउनेछ । सो कार्यविधीमा सवारी साधन प्रत्येक खेपपछि निर्मलीकरण गर्नु पर्ने, यात्रुलाई अनिवार्य रुपमा स्यानिटाइजर उपलब्ध गराउनु पर्ने, भाडा दिँदा सकेसम्म अनलाईन प्रणाली तथा क्यासको हकमा बाकसको व्यवस्था गर्ने लगायतका व्यवस्था गरिनु पर्ने उल्लेख छ । तर सो कार्यविधीमा भाडाबारे भने केही उल्लेख गरिएको छैन । सामान्य अवस्थामा जस्तो यात्रु कोचेर राख्न पाइने छैन । यात्रुसँग भौतिक सम्पर्क गर्न नपाइने उल्लेख छ । रोगको महामारी नफैलियोस भन्ने उद्देश्यले फोहोर फाल्न डस्बिनदेखि गाडीमा पंखाको पनि व्यवस्था गरिनुपर्ने उल्लेख छ ।
सरकारले लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात भने संचालन हुन सकिरहेका छैनन् । छिटो भन्दा छिटो संचालन गर्नेबारे छलफल भइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।





























प्रतिक्रिया