महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबीच भेटवार्ता, भिसा र व्यापार सम्बन्धबारे छलफल

महासंघ अध्यक्ष ढकाल र इन्डोनेशियाका राजदूतबीच भेटवार्ता, भिसा र व्यापार सम्बन्धबारे छलफल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत हेरु हार्तान्तो सुबोलोबिच भेटवार्ता भएकाे छ । 

टेकुस्थित महासंघको सचिवालयमा भएकाे भेटवार्तामा दुई देशबिच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको छ । साे अवसरमा अध्यक्ष ढकालले इन्डोनेशिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनस्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका छन् । 

इन्डोनेशियाले कोभिड महामारीदेखि नेपालीहरुलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो । 

नेपालका लागि गणतन्त्र इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत समेत रहेका ढकालले नेपाल र इन्डोनेशियाबिच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रह समेत गरेका छन् । 

उक्त अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसकालागि इन्डोनेशिया सरकारसँग कुराकानी गर्ने बताएका छन् । 

उनले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुर्नस्थापनाका लागि आफूले पहल गर्ने समेत बताए । नेपाली व्यवसायीले इन्डोनेशियामा धेरै वस्तुहरु निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत उनले बताए ।

नेपाल र गणतन्त्र इन्डोनेशियाबिच सुमधुर कुटनैतिक सम्बन्ध रहेको छ । दुई देशबिचको व्यापारिक सम्बन्ध पनि बढ्दो क्रममा रहेको छ । नेपालले कार्पेट, चिया तथा टेक्टटाइल जस्ता वस्तुहरु इन्डोनेशियामा निर्यात गर्छ भने इन्डोनेशियाबाट पाल्म आइल, मसिनरी र इलेक्ट्रोनिक्स सामग्रीहरु आयात गर्ने गर्छ ।

Skip This
Skip This
Logo