गैरआवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छः महासंघ अध्यक्ष ढकाल

गैरआवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छः महासंघ अध्यक्ष ढकाल

केन्द्रबिन्दु
0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हुन्।

अध्यक्ष ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए। ‘उद्यमशीलता विकास गर्नका लागि लगानी आवश्यक छ’, ढकालले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ।’ गैरआवासीय नेपालीहरुले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै मुलुकका लागि थप लगानी आवश्यक भएकाले लगानी भित्र्याउन आग्रह गरे।

नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा आफू पनि सहकार्य गर्न तयार रहेको बताएका छन्। आफू बागलुङ जिल्लाको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको बताउँदै बागलुङेहरु विदेशमा गेएर सफलता प्राप्त गरेको बताए। ‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्’,ढकालले भने,‘अब गृह जिल्लामा पनि लगानी गर्नु आवश्यक छ।’

Logo