बराहपोखरीबाट रु एक करोड ७५ लाखको खसी बिक्री

बराहपोखरीबाट रु एक करोड ७५ लाखको खसी बिक्री

केन्द्रबिन्दु
0
Shares

दसैँ,तिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ।खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५  खसी काठमाडौँ पुर्याएका छन्।

एउटा खसीको सरदर मूल्य रु २० हजार मान्दा रु एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिए। खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर-घरमा पुगेका थिए। 

दसैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु पाँच-छ लाखसम्म हात पारेका छन्। कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन्। 

किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए। उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए। 

कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौँ पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिए। कतिपय किसानले आफैँ उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन्।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँ,तिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। 

Skip This
Skip This
Logo