चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेतीतर्फ आकर्षित

चिनी मिल सञ्चालन हुने भएपछि किसान उखु खेतीतर्फ आकर्षित

केन्द्रबिन्दु
0
Shares

बर्दियाको राजापुरमा चिनी मिल सञ्चालनको तयारी थलिएपछि किसान उखु खेतीमा आकर्षित भएका छन्। राजापुर सुगर एण्ड केमिकल्स इन्डष्ट्रिज प्रालिले राजापुर नगरपालिका–५ बदालपुरमा आउँदो वर्षदेखि मिल सञ्चालनमा ल्याउने गरी तयारी थालेपछि किसान उखु खेती विस्तारमा लागेका हुन्। 

कैलालीको टीकापुरका कृषक धनसिंह साउदले चिनी मिल सञ्चालन हुने भएपछि उखु खेती सुरु गरेको बताए। ‘मिल सञ्चालकसँग समन्वय भएर नै उखु खेती सुरु गरेका छौँ’, उनी भन्छन्,‘मिल सञ्चालन भयो भने किसानका लागि ठूलो अवसर सिर्जना हुने विश्वास छ।’

प्रालिका प्रबन्धक निर्देशक यज्ञबहादुर ओलीले २०८१ सालमा चिनी मिल सञ्चालनमा ल्याउने गरी काम सुरु गरिएको बताएका छन्। ‘केही भागमा उखु खेती सुरु गरेका छौँ भने केही किसानलाई पनि उखु खेतीका लागि आग्रह गरेका छौँ’, प्रबन्ध निर्देशक ओलीले भने, ‘उखु उत्पादन हुँदै गर्दा आवश्यक उपकरण जडानको काम पनि सँगसँगै गर्ने गरी काम थालेका छौँ।’

कम्पनीले २० बिघा जग्गा खरिद गरेर काम थालेको छ। मिल सञ्चालन गर्न रु दुई अर्बदेखि अढाइ अर्ब खर्च लाग्ने अनुमान कम्पनीको छ। मिल पूर्णरुपमा सञ्चालन गर्नका लागि पाँचदेखि छ हजार बिघा क्षेत्रफलमा उखु खेती आवश्यक पर्ने निर्देशक ओली बताउँछन्। 

मिल सञ्चालनमा आए पाँच सय बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् भने हजारौँ अप्रत्यक्ष रोजगारीमा जोडिने अपेक्षा गरिएको छ। कम्पनीले प्राविधिक बाहिरबाट ल्याउने भएपनि अन्य कर्मचारी स्थानीयलाई प्राथमिकतामा राख्ने बताएको छ।बाढी र डुबानका कारण अन्य खेतीको उत्पादन राम्रो नहुँदा चिन्तित किसान चिनी मिलले खेती बाँझो नहुने भन्दै आशावादी बनेका छन्। 

“बलौटे माटोमा उत्पादन केही हुँदैन। वर्षातको समयमा बाढीले लगाएको बर्खेबाली पनि नष्ट गर्छ”, राजापुर नगरपालिका–८ का धर्मचन्द्र चौधरीले भने,“चिनी मिल सञ्चालन भयो भने हामीलाई धेरै राम्रो हुनेछ। म मात्रै नभई यसक्षेत्रका किसानलाई पनि ठूलो अवसरको रूपमा चिनी मिल बन्ने छ।”

अर्का किसान सुरेन्द्र चौधरीले राजापुरमा चिनी मिल सञ्चालन हुँदा बर्दियाका किसानलाई मात्रै नभई छिमेकी पालिकाले पनि ठूलो लाभ लिन सक्ने बताएका छन्। मिल सञ्चालन हुँदा उत्पादन नहुने कुनै पनि जग्गा खाली नरहने उनको विश्वास छ। 

“अहिले कैयौँ जग्गा प्रयोगमा छैन। बर्षातको समयमा बाढी र डुबान, हिउँदमा सिँचाइको समस्याले किसान उत्साहित भएर खेतीमा अग्रसर हुन सकेका छैनन्”, सुरेन्द्र चौधरी भन्छन्, “चिनी मिल बर्दियाका लागि ठूलो अवसर हो। यसबाट किसानलाई मात्रै नभई अन्य नागरिकलाई पनि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा हुनेछ।”

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले चिनी मिल राजापुर क्षेत्रका लागि ठूलो सम्भावना बोकेको उद्योग बन्ने विश्वास व्यक्त गरेका छन्। उनले रोजगारीका अवसरदेखि किसानको सम्भावनालाई चिनी मिलले पूरा गर्ने बताएका छन्। 

“स्थानीय सरकारको प्राथमिकता भनेकै रोजगारीका अवसर सिर्जना गर्नु र स्थानीय उत्पादनलाई मजबुत बनाउनु नै हो। नगरपालिकाले सबै संयन्त्रसँग समन्वय र सहकार्य गर्दै पनि आएको छ”, नगर प्रमुख थारु भन्छन्,“स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा हामी सधैँ सकारात्मक र सहयोगी भावनाका साथ अगाडि बढेका छौँ। त्यसैको उपज चिनी मिल सञ्चालनमा आउनु पनि हुनेछ।”

उनले राजापुर नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउनका लागि यस्तै दुई चार वटा अन्य उद्योग सञ्चालनमा ल्याउन जरुरी रहेको बताए। “चिनी मिल सञ्चालनमा आयो भने सयौँले प्रत्यक्ष रोजगारी पाउने छन् भने हजारौँले अप्रत्यक्ष रोजगारीमा जोडिने छन्”, नगर प्रमुख थारुले भने, “यसरी दुईतीन अरु उद्योग सञ्चालनमा आउन सक्यो भने यसक्षेत्रका सबैले रोजगारी पाउने छन्। स्थानीय उत्पादनले बजार पाउने छ। अनि समृद्धि नगरपालिका बनाउन कुनै समस्या छैन ।”

टीकापुर नगरपालिका-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले चिनी मिल सञ्चालकसँग समन्वय गरेर किसानले उखु खेती सुरु गरेको बताए। “उहाँहरुकै आग्रहमा किसानले उखु खेती सुरु गरेका छन्।

गुड मिल सञ्चालन गर्दै आएको मैले पनि थप उखु खेती विस्तार गरेको छु”, वडाध्यक्ष ठकुल्ला भन्छन्, “बर्दियामा मिल सञ्चालन भए पनि त्यसले टीकापुरलगायतका छिमेकी पालिकालाई समेत मद्दत मिल्ने छ।”

Skip This
Skip This
Logo