एफएनसीसीआईमा ग्रीन ग्रोथ एडभाइजरी सर्भिस, हरित अर्थतन्त्र प्रवर्द्धनमा सहयोग गर्ने

एफएनसीसीआईमा ग्रीन ग्रोथ एडभाइजरी सर्भिस, हरित अर्थतन्त्र प्रवर्द्धनमा सहयोग गर्ने

केन्द्रबिन्दु
0
Shares

हरित अर्थतन्त्रको प्रवर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा ग्रीन ग्रोथ एडभाइजरी सर्भिस स्थापना भएको छ । 

संघीय संसद् राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थ, महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशक नुमान ओजकानले संयुक्त रूपमा महासंघ सचिवालयमा शुभारम्भ गरेका हुन्।

ग्रीन ग्रोथ एडभाइजरी सर्भिस अन्तर्राष्ट्रिय श्रम संगठनको प्राविधिक सहयोगमा स्थापना भएको हो। सर्भिसमार्फत महासंघले आर्थिक वृद्धिलाई बढवा दिँदै वातावरणीय रूपमा दिगो अभ्यास अपनाउन वकालत गर्ने छ।

एडभाइजरीमार्फत औद्योगिक करिडोर, औद्योगिक क्षेत्र र ग्रामहरूमा विशेष जोड दिएर रोजगारमूलक सीप विकास, हरित रोजगारी र न्यायोचित परिवर्तनमा केन्द्रित हुनेछ। साथै प्रदेश र स्थानीय स्तरमा सचेतना अभियान आयोजना हुनेछन्।

हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न रणनीति र कार्य योजनाहरूको विकासमा सहयोग गर्ने कार्यमा पनि एडभाइजरीले पहल गर्ने छ। हरित वृद्धिसँग सम्बन्धित ज्ञान, प्रविधि र अभ्यास आदानप्रदान गर्न सरोकारवाला निकायसँग सहकार्यमा पनि एडभाइजरीले गर्ने छ। 

एडभाइजरीको शुभारम्भ गर्दै सभापति पन्थले महासंघले नेपाली उद्योग व्यवसायलाई हरित वृद्धिको अवधारणातर्फ लैजान थालनी गरेको प्रयासको प्रशंसा गरे।

महासंघका अध्यक्ष ढकालले नेपाली व्यवसाय र उद्योगहरूमा हरित वृद्धि अभ्यास अँगाल्दा वातावरण र समाजलाई मात्र फाइदा नपुगी आर्थिक वृद्धि, बजार प्रतिस्पर्धा र दीर्घकालीन दिगोपनका लागि अवसर पनि सृजना हुने दाबी गरे।

आइएलओका निर्देशक नुमानले महासंघसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे। नेपाली व्यवसाय र उद्योग क्षेत्रमा हरित वृद्धि अवधारणाको नेतृत्व र कार्यान्वयन गर्न आइएलओको सहयोग रहने उनले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रको क्षमता विकास, जनशक्ति विकास, असल श्रम सम्बन्ध विकासमा आइएलओको सहयोग सराहनीय रहेको बताए।

महासंघ वस्तुगत परिषद्का सभापति हेमराज ढकालले संघहरूको कार्य सञ्चालन विधि, कार्यस्थलमा आधारित सीप सिकाइ निर्देशिका, हरित वृद्धि प्रतिवेदन तयार गर्न आइएलओले गरेको सहयोगको प्रशंसा गरे।

Skip This
Skip This
Logo