दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

केन्द्रबिन्दु
0
Shares

कास्कीको माछापुच्छ्रेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ वटा मात्रै च्याङ्ग्राको व्यापार गरे । बागलुङ, पर्वत, कास्की हुँदै तनहुँसम्म गुरुङले च्याङ्ग्रा पुर्याए । तर सबै बिक्री हुन सकेनन् । तीन सय ५४ मात्रै बिक्री भए । 

दसैँ सकिएपछि गुरुङले बाँकी रहेका तीन सय ४६ च्याङ्ग्रा आफ्नो गाउँ लिएर फर्किए । केही समय गाउँमै घाँस र दाना खुवाएर पालेपछि अहिले तिहारका लागि फेरि पर्वत हुँदै बागलुङसम्म च्याङ्ग्रा लिएर आएका छन् । दसैँका लागि ल्याएका च्याङ्ग्रा तिहारसम्म पनि नबिक्दा उनी साह्रै तनावमा देखिन्छन् । दसैँको भन्दा अहिले च्याङ्ग्राको मूल्य कम भएकाले बिक्री भइरहेको छ । पोहोर परार साल एक हजार खरिद गरेर ल्याए पनि दसैँमा सबै बिक्री भएका गुरुङ बताउँछन् । 

“यसपाली सोचे अनुसार व्यापार भएन”, उनले भने ।

वर्षौँदखि भेडाच्याङ्ग्रा खरिद बिक्री गर्दै आएका गुरुङलाई यसपाली आर्थिक मन्दिका कारण ठूलो समस्या भएको छ । तिहारको दिनसम्म सबै च्याङ्ग्रा सक्ने योजनामा उनी छन् । कम मूल्यमा दिन थालेपछि दसैँका तुलनामा यस बेला बढी बिक्री भएका छन् । अझै पनि उनीसँग करिब डेढ सय च्याङ्ग्रा साथमै छन् । 

गुरुङलाई तिहारसम्म सबै भेडाच्याङ्ग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ । करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने उहाँ १८ वर्षदेखि यही पेसामा लागेका हुन्। दसैँ तिहार जस्ता ठूला पर्वमा धेरैले मासुका लागि च्याङ्ग्रा खोज्ने गर्दछन् । च्याङ्ग्राको यसवर्ष न्यूनतम रु ३० हजारदेखि रु ५८ हजारसम्म मूल्य छ । 

सहरबजारमा च्याङ्ग्राको मासुको अत्यधिक माग छ । रु एक करोड ५० लाखमा खरिद गरेको च्याङ्ग्रा बिक्री नभएपछि थारै पनि नाफा नउठाइ बेच्न बाध्य भएको गुरुङले बताए । दसैँका बेला कम बिक्री गरे पनि पर्याप्त नाफा उठाउन पाएको उल्लेख गर्दै उनले तिहारसम्म बिक्री गरिसक्नुपर्ने हुँदा सस्तो भाउमा बेच्न थालेको बताए । बागलुङ बजारदेखि गलकोटसम्म पुगेर फर्कने योजना रहेको गुरुङ बताउँछन् ।

Skip This
Skip This
Logo