काठमाडौं ।
सांसदहरुले कोभिड–१९ का कारण अर्थतन्त्रमा देखिएका संकेतहरुले कुनैपनि बेला गम्भिर संकट देखा पर्ने खतरा रहेको बताएका छन् ।
संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा सांसदहरुले खर्च र आम्दानीमा देखिएको फरकले अर्थतन्त्रलाई गम्भिर अवस्थामा धकेल्दै लगेको बताएका हुन् । यस्तै कुनैपनि समय भारतले आपूर्ति बन्द गरेमा देशभित्रको आपूर्ति चेन विग्रन सक्ने र अर्थतन्त्रमा थप संकट पर्ने टिप्पणी गरेका छन् ।
पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भारतसँग सम्बन्ध विग्रदै जाने र भारतले आपूर्ति नगरेमा देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने र समग्र आपूर्ति चेन नै विग्रन सक्ने खतरा रहेको बताए । उनले देश भित्रै उत्पादन भएको खाद्य वस्तुको आपूर्तिलाई सहजिकरण गर्न समेत सरकार असफल बनेको टिप्पणी गरे । उनले कोभिड १९ का कारण परेको असरलाई कम गर्न रोजगारी र अर्थतन्त्रलाई जोगाउने विषयमा अर्थसमितिले गम्भिर छलफल गर्नुपर्ने बताए ।
सांसद रामकुमारी झाक्रीले सरकारले मन्त्रालयहरुको संख्या बढी राखेर खर्च बढाइरहेको बताइन् । उनले खानेपानीका कार्यक्रमहरु सहरी विकास मन्त्रालयको एउटा अंग मात्रै भएको र स्थानीय तहको कार्यक्षेत्र पर्ने भएकाले उक्त मन्त्रालय काम नलाग्ने बताइन् । यस्तै बजेट विनियोजनमा पनि सरकारले सांसदहरुलाई ब्यल्याक मेलिङ गरेको बताइन् । उनले मन्त्रालयहरुले बजेटमा विरोध हुन नदिन सांसदहरुको माग अनुसार सानो सानो आयोजनालाई समावेश गरेर बजेट विनियोजन गरिएको टिप्पणी गरिन् । यस्तै सरकारले नै करदातालाई अदालतसम्म पुग्ने अवस्था सिर्जना गरेकाले कर उठ्ने वातावरण समेत विग्रिएको उनले बताइन् । कर नउठ्ने भएपछि सरकारको खर्च र आम्दानीबीच असन्तुलन देखा परेको सांसद झाक्रीले बताइन् ।
सांसद श्यामकुमार श्रेष्ठले देशभित्र रहेको सबै रुप र रङको पूँजीलाई राजश्वको दायरामा ल्याएर सार्वजनिक गर्न दिनुपर्ने बताइन् । उनले काठमाडौंमा रहेका घरहरुको डाटा राख्ने र कर उठाउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताए ।
सांसद जयकुमार राईले अहिले सम्म अर्थसमितिले दिएका कुनैपनि निर्देशनहरु सरकारले पालना नगरेकोले अवदेखि थप बलियो बन्दै सरकारलाई निर्देशन दिनु पर्नेमा जोड दिए । उनले अर्थसमितिका छलफलका विषयवस्तुमा विस्तृत छलफल गरी सरकारलाई कार्यान्वयन गर्न दवाव दिनुपर्ने बताए ।
सांसदहरुले सरकारको खर्च उच्च हुने र आम्दानी कम हुने हुँदा अर्थतन्त्रमा दीर्घकालिन असर पर्नेतर्फ अहिले नै ध्यानदिनु पर्नेमा जोड दिएका छन् । सांसदहरुले अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारको मासिक खर्च ४० अर्ब र आम्दानी १५ अर्ब रहेको बताइसकेकाले यहि अवस्था लामो समय रहे अर्थतन्त्रमा थप चुनौति देखापर्ने बताएका छन् ।































प्रतिक्रिया