लाइभ नगरिएको कांग्रेस बैठकमा के हुँदैछ ?

लाइभ नगरिएको कांग्रेस बैठकमा के हुँदैछ ?


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसपटक केन्द्रीय कार्यसमिति बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न दिएनन् । 

गत साउनमा सभापति देउवाले अप्रत्यासित रुपमा पार्टीको बैठक सामाजिक सञ्जालमा लाइभ गर्ने निणर्य लिएका थिए। मंसिरमा बसेको बैठकमा पनि त्यसलाई निरन्तरता दिइयो। 

तेस्रो बैठकमा आइपुग्दा खेरि नै कांग्रेस आफ्नो निणर्यबाट पछि हटेको छ। सरकारको समीक्षा र मन्त्रीहरूका कामबारे प्रश्न गर्न पाउने भएपछि तयारीका साथ सानेपा पुगेका केन्द्रीय सदस्यहरूले बैठक किन प्रत्यक्ष प्रशारण नगरिएको हो? भन्नेबारे सोधी खोजी गरेका थिए। 

‘बैठक लाइभ हुन्छ, यहाँको छलफल जनताले सुन्न पाउँछन् भन्ने आशा थियो, तर आज त बैठक लाइभ छैन,’ बैठकमा केन्द्रीय सदस्य डिला संग्रौलाले भनिन्, ‘पहिले किन लाइभ गरियो ? अहिले किन नगरिएको हो?’बैठक लाइभ हुन्छ भनेर सार्वजनिक खपत्का विषयमा बोलुँला भनेर तयारीका साथ पुगेका नेताहरू हिस्स परे। तर बैठक लाइभ हुँदा सबै कुरा बोल्न नपाएका नेताहरू भने बिहीबारको बैठकमा फेरि धक फुकाएर बोले। 

बैठकमा नेताहरूले सरकार र प्रधानमन्त्रीको मात्रै होइन, कांग्रेसकै मन्त्रीहरूको चर्को आलोचना गरेका छन्। उनीहरूले नजिकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीले पटक-पटक अवसर पाएका नेताहरूलाई होइन, अहिलेसम्म अवसर नै नपाएका नेताहरूलाई मौका दिएर न्याय गर्नुपर्ने दबाब दिएका छन्। सदस्यहरूले राष्ट्रिय सभाका लागि उम्मेदवार छनोट गर्दा गुटलाई भन्दा, योगदान र क्षमतालाई प्राथमिकतामा दिन सभापति देउवालाई ब्यंग्यात्मक सुझाव दिए। 

‘अहिले जे चर्चा भइरहेको छ, त्यसअनुसार अस्ति भर्खरै चुनाव हारेको मान्छेले फेरि टिकट पाउने हो भने मैले किन नपाउने?,’ बैठकमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले भनेका थिए, ‘गुटका नाममा गलत मान्छेलाई संरक्षण हुनु राम्रो होइन । पार्टीले कामका आधारमा विना भेदभाव नेता कार्यकर्तालाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्छ, गुटका आधारमा होइन।’

केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छनौट गर्दा न्याय हुने हिसावले गर्नुपर्ने सुझाव दिए।‘गठबन्धनमा कांग्रेसले पाउने सिट संख्या कति हो? अहिलेसम्म कुनै छलफल भएको देखिएको छैन। ती सिटमा टिकट वितरण कसरी हुने हो? त्यसबारे केही खुलेन,’ बैठकमा बडूले जिज्ञासा राख्दै भनेका थिए,‘यदि अहिले जे चर्चा भइरहेको छ, त्यही अनुसार हो भने त्यो राम्रो भएको छैन।’

केन्द्रीय सदस्य कणर्बहादुर बुढाले पनि प्रतिनिधिसभामा प्रतिनिधित्व नभएका जिल्ला र क्षेत्रहरूलाई राष्ट्रिय सभामा प्रतिनिधित्व गराउनुपर्ने सुझाव दिएका थिए। सदस्यहरूले कांग्रेससहितको सरकार भएपनि पार्टीका नेता कार्यकर्तालाई समेत सरकार भए/नभएकोबारे कुनै आभास नभएको गुनासो गरेका थिए। 

‘प्रधानमन्त्रीले भर्खरै वर्ष दिनको प्रगति सार्वजनिक गर्नुभयो। हुन त हाम्रै पार्टी सरकारमा छ तर जनताको नजरबाट हेर्दा देशमा सरकार भएको अनुभूति छैन,’ केन्द्रीय सदस्य राजीव कोइरालाले भनेका थिए,‘म पार्टीको केन्द्रीय सदस्य हुँ, तर मलाई पनि पार्टी सरकारमा भएको अनुभूति छैन।’

उनले पार्टीका तर्फबाट मन्त्री बनेकाहरूले पनि गुटका लागि मात्रै काम गरेको आरोप लगाएका थिए। ‘मन्त्रीहरूले देश र जनताका लागि होइन, पार्टीका लागि पनि होइन, खाली आफ्नो गुटका लागि काम गरिरहेको हो कि भन्ने अनुभूति भएको छ,’उनको आरोप थियो।

अर्का केन्द्रीय सदस्य मुक्ताकुमारी यादवले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाइन्। ‘पार्टी सरकारमा छ, तर हामी आफैँ बजेटका लागि जाँदा पनि पाइएको छैन। जनताको चासोका मुद्धामा पनि सरकारले जति प्राथमिकता दिएर काम गर्नुपर्ने हो,त्यस्तो भएको छैन,’यादवले भनिन्। 

बिहीबारको बैठकमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना केन्द्रीय सदस्यहरूले धारणा राखे। त्यसपछि संस्थापनइतर पक्षका अधिकांश नेताहरूले सरकारको आलोचना गरेका थिए। 

बैठकमा कांग्रेसका मन्त्रीहरूले सरकारमा अहिलेसम्म गरेका कामको फेहरिस्त पेस गर्ने र केन्द्रीय सदस्यहरूले सुझावसहित समीक्षा हुने नेताहरूले बताएका छन्। बिहीबार भने मन्त्रिपरिषद् बैठक परेका कारण स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मात्रै बोले। 

‘स्वास्थ्य क्षेत्र निकै समस्याग्रस्त छ। दक्ष जनशक्ति छैन। दरबन्दीअनुसार कर्मचारी नियुक्त गर्न सकिएको छैन,’ मन्त्री बस्नेतलाई उदृत गर्दै एक नेताले भने, ‘अहिले देशभर ९२ हजार कर्मचारी चाहिएको हो। तर ३० हजार दरबन्दीका लागि विज्ञापन खुलाउने प्रयास भइरहेको छ। मैले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको छु।’

मन्त्री बस्नेतले कांग्रेसकै पहलमा सुरू भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अघि बढाउन प्रयास गरिरहेको बताएका थिए। बैठकमा शुक्रबार पनि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम चल्नेछ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, ‘सरकारको समीक्षा, महासमिति बैठकको तयारी, राष्ट्रिय मेलमिलाप दिवस मनाउने र राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी लगायतका पाँच विषय प्रस्तावकोरुपमा छन्, ती नै विषयहरूमा केन्द्रीय सदस्यहरूले धारणा राख्नुहुन्छ।’ शुक्रबार थप मन्त्रीहरूले सरकारमा गरेको कामका विषयमा धारणा राख्ने उनले बताए। बैठक शुक्रबार विहान ११ बजे बस्दैछ।

Logo