अटो मोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारण सभामार्फत नयाँ नेतृत्व चयन हुँदैछ । पुस २० र २१ गते सम्पन्न हुने साधारण सभाबाट युवा व्यवसायी करण चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन हुने घोषणा पहिले नै भइसकेको छ । यसपटक सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ । यसअघि अध्यक्षको उम्मेदवारको रुपमा करण चौधरी र आकाश गोल्छाका साथै प्रकाश कपुरी समेत चर्चामा थिए ।
अध्यक्षमा करण चौधरीसहित कार्यसमितिमा साधारण सदस्यका तर्फबाट राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, मिलनबाबु मल्ल, बिक्रम सिंघानिया, पंकज अग्रवाल, यमुना श्रेष्ठ, प्रदिपमान प्रधान, कपिल शिवाकोटी, प्रकाश कपुरी, दिपेन्द्रकुमार मिश्र, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान सर्वसम्मत चयन भएका हुन् ।
संस्थागत सदस्यका तर्फबाट सञ्जयकुमार श्रेष्ठ (मोरङ अटोमोबाइल एशाेसिएशन), तेज नारायण शाह (जानकी अटो मोबाइल एशाेसिएशन), कुलबहादुर क्षेत्री (चितवन अटो मोबाइल एशाेसिएशन), कृष्णप्रसाद श्रेष्ठ (पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशाेसिएशन), गणेशप्रसाद भट्टराई (लुम्बिनी अटोमोबाइल एशाेसिएशन अफ नेपाल), भद्र भण्डारी (कर्णाली अटो मोबाइल एशाेसिएशन) र पुष्करराज ओझा (सुदूर पश्चिम अटोमोबाइल डिलर्स एशाेसिएशन) कार्यसमिति सदस्यमा चयन भएका छन् । अन्य केही सदस्यहरु समेतपछि कार्यसमितिले मनोनयन गर्नेछ । कार्यसमितिबाटै आगामी दिनमा पदाधिकारी समेत चयन हुनेछ ।
अटो मोबाइल व्यवसायीहरुले चुनाव वास्तवमा नाडाका लागि उपयुक्त छैन र सबै व्यवसायी मिलेर अटोमोबाइल व्यवसायको हित हुनेगरी कार्यसमिति चयन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश प्रवाह भएको छ ।
यो भन्दा अघिल्लो कार्यकालका लागि भने देश दौडाहा गरेर व्यवसायीहरुले चुनावी माहोल तयार गरेका थिए । अहिलेकै अध्यक्ष करण चौधरी र ध्रुव थापाबीच भएको चुनावमा ध्रुव थापा विजयी बनेका थिए । दुई प्यानल बनाएका अटो मोबाइल व्यवसायीहरुको कार्यसमितिमा भने मिश्रित नतिजा आएको थियो । तर अहिले सर्वसम्मतबाटै कार्यसमिति चयन भएको छ । यस पटकको कार्यसमिति चयनले अन्य धेरै सन्देश दिएको छ ।
- सर्वसम्मति नै उपयुक्त विकल्प
निवर्तमान अध्यक्ष ध्रुव थापाकै पहलमा यस पटक भने चुनावविनै नयाँ कार्यसमिति चयन भएको छ । यसबाट अटो मोबाइल व्यवसायीहरुले चुनाव वास्तवमा नाडाका लागि उपयुक्त छैन र सबै व्यवसायी मिलेर अटोमोबाइल व्यवसायको हित हुनेगरी कार्यसमिति चयन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश प्रवाह भएको छ । व्यवसायीहरु एक अर्कामा मिलेर नै अगाडि बढ्नुपर्छ भन्ने सन्देश यसले दिएको छ ।
- नाडामा फेरि घरानाको नेतृत्व
यो भन्दा पहिलेको चुनावमा कुनै पारिवारिक घरानालाई नै युवराज बनाए जसरी नेतृत्व सुम्पिनु हुँदैन भन्ने तर्क गरेर ध्रुव थापाले चुनाव जितेका थिए । त्यतिबेलाकै प्रतिस्पर्धी करण चौधरीलाई उनले युवराज जस्तो नेतृत्व सुम्पिनु हुँदैन भन्ने उनको तर्क थियो । हुन पनि यो भन्दा पहिले अध्यक्ष भइसकेका सौरभ ज्योति, शेखर गोल्छा आदि प्रतिष्ठित घरानाकै मानिन्छन् । नाडामा एक प्रकारको सिन्डिकेट थियो र पालैपालो विभिन्न व्यवसायीलाई नेतृत्व सुम्पिने एक प्रकारको सम्झौता जस्तै थियो । सो लहरलाई ध्रुव थापाले तोड्न सफल भएका थिए । तर अब करण चौधरीको आगमनसँगै फेरि त्यही परम्परा दोहोरिने अनुमान समेत गर्न थालिएको छ ।
यो भन्दा अघिल्लो कार्यसमितिमा रहेका महत्वपूर्ण र प्रतिष्ठित व्यवसायीहरु यो कार्यसमितिमा अटाउन सकेनन् ।
- बाहिरिए प्रतिष्ठित व्यवसायीहरु
यो भन्दा अघिल्लो कार्यसमितिमा रहेका महत्वपूर्ण र प्रतिष्ठित व्यवसायीहरु यो कार्यसमितिमा अटाउन सकेनन् । यीमध्ये केहीले समितिमा बस्न अनिच्छा देखाए भने कतिपय चाहेर पनि अट्न सकेनन् । बतास एमएडब्ल्युका कार्यकारी अधिकृत दिपक अग्रवाल, बजाज बाइकको वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीका निर्देशक अभिभन्यु गोल्छा र होन्डा मोटरसाइकलको वितरक स्याकार ट्रेडिङ कम्पनीका महाप्रबन्धक सोहन श्रेष्ठ यस पटकको कार्यसमितिमा परेनन् । त्यसैगरी अभिक ज्योति, अनुपकुमार बराल, राम निलमणि पाठक, बरदान बस्नेत, गोपाल भट्टराई, निशान ढकाल र अमृत जोशी पनि यसमा परेनन् । यीमध्ये अनुपकुमार बराल यसै वर्ष सम्पन्न नाडा अटो शोका सभापति समेत थिए ।
नाडाका अफिसियल डकुमेन्ट्स तयार पार्ने देखि अन्य रणनैतिक महत्वका काम गर्ने तथा ठुला कार्यक्रमहरुलाई सफल बनाउन दिलो ज्यान दिने बराल कसरी कार्यसमितीमा परेनन् भन्ने आफैंमा आश्चर्यजनक विषय बनेको व्यवसायीहरु नै बताउँछन् । अनुप नाडाका लागि नभइ नहुने मान्छे थिए, एक व्यवसायी नाम उल्लेख नगर्ने शर्तमा भन्छन्, महासचिव बनाउनुपर्ने मान्छेलाई राजनीती गरेर आउट गरियो । त्यसैगरी नयाँ पुस्ताको रुपमा भित्र्याइएका अभिमन्यु गोल्छा, निशान ढकाल आदि समेत कार्यसमितिमा परेनन् । यद्यपी अध्यक्षबाट मनोनित हुने ३ जनामा यी सबै व्यवसायीमध्ये केही आउन सक्ने सम्भावना भने छ ।
- चर्चामा प्रकाश कपुरी
नाडा अध्यक्षका लागि यसपटक करण चौधरी र आकाश गोल्छाका साथै प्रकाश कपुरीले समेत उम्मेदवारी घोषणा गरेका थिए । आखिरमा करण पछि बरिष्ठ उपाध्यक्षको रुपमा आकाश गोल्छा हुने सहमतिका साथ चुनाव नहुने निश्चित भयो । प्रकाश कपुरीले कृष्ण प्रसाद दुलाल अध्यक्षको उम्मेद्वार बन्दै गर्दा पनि अध्यक्षको उम्मेद्वारी घोषणा गरेका थिए, तर सर्वसम्मत रुपमा दुलाललाई अध्यक्ष बनाउने भनेपछि उनी ब्याक सरे । यसपटक पनि सर्वसम्मत नभए आफ्नो उम्मेद्वारी कायम रहने र जितेर देखाइदिने उनको तर्क थियो । सर्वसम्मत रुपमा करणलाई अध्यक्ष बनाउने निर्णय हुँदै गर्दा कार्यसमितीमा कपुरीलाई ल्याउन करण चौधरी र आकाश गोल्छाले प्रस्तावक समर्थक बसेर नाम अघि बढाएका थिए ।
कार्यसमितिमा थपिएका ५ नयाँ अनुहार मध्ये सौरभ थापावाहेक बाँकी ४ जना स्पेयर पार्ट्स व्यवसायमा संलग्न व्यवसायी हुन् ।
नाडालाई देशव्यापी बनाउन र प्रदेश एशाेसिएशन निर्माण गर्नमा उनको महत्वपूर्ण भूमिका छ । कोभिडको समयमा पनि उनले प्रदेशहरुमा पुगेर व्यवसायीहरुलाई भेला गराएर प्रदेश संरचना बनाएका थिए । यद्यपी सदैव अटोमोबाइल व्यवसायीबीचमा सहमति हुनुपर्छ भन्ने मान्यता राख्ने कपुरी यसपटक पनि अध्यक्षको उम्मेदवारीबाट ब्याक भए । यस पटकको सहमति गराउन आफ्नो समेत महत्वपूर्ण भूमिका भएको उनको भनाइ छ ।
- ५ नयाँ अनुहार
नयाँ कार्यसमितिमा साधारण सदस्यका तर्फबाट चयन भएका मध्ये ५ जना नयाँ अनुहार छन् भने १२ जना पुरानै कार्यसमितिबाट आएका हुन् । कार्यसमितिमा चयन भएका नयाँ सदस्यमा दिपेन्द्रकुमार मिश्र, रिद्धि कार्की, नवराज भुसाल, सौरभ थापा र संजयकुमार खेतान छन् ।
- स्पेयर पार्ट्स व्यवसायीको बाहुल्यता बढ्दै
कार्यसमितिमा थपिएका ५ नयाँ अनुहार मध्ये सौरभ थापावाहेक बाँकी ४ जना स्पेयर पार्ट्स व्यवसायमा संलग्न व्यवसायी हुन् । दिपेन्द्रकुमार मिश्र सत्यदिप ग्रुपका संचालक हुन् । यो ग्रुपले नेपाल गोल्ड ब्रान्डको लुब्रिकेन्ट्सलाई स्वदेशमै उत्पादन गर्दै आएको छ भने मिन्डा, वोस, एमके सहित एकदर्जन बढी ब्रान्डका स्पेयर पार्ट्स तथा केज ब्रान्डको ब्याट्री, मोटुल लुब्रिकेन्ट्स र मेभोक्स हेल्मेट बिक्री–वितरण गर्दै आएको छ ।
सदस्य चयन भएका अर्का व्यवसायी रिद्धि कार्की टिभिएस, अटोसेल, मोन्रो, जेन, सिन्डिकेट र एसकेएफलगायत ब्रान्डको आयातकर्ता श्रीदुष इन्टरनेसनलका प्रवन्ध निर्देशक हुन् । यसैगरी नवराज भूसालको रिता अटोमोबाइल्सले स्पाइसर, टोयो, टिभिएस गिर्लिङ, भेलिओ, रेम्सन्स, हेलिकोर्ड र रिको सहितदुई दर्जन बढी ब्रान्डका स्पेयर पार्टस आयत गरी कारोवार गर्दै आएको छ ।
नाडाले मन्त्री र सरकारी निकायका प्रमुखहरुलाई भेटेर सुझाव दिने कार्य मात्र गरेको, तर नतिजा नआएको भनेर व्यवसायीहरुले नै चर्चा गर्न थालेका छन् ।
अर्का व्यवसायी संजयकुमार खेतान हिमांशु इन्टरनेसनलका संचालक हुन् । संजय नाडाका पूर्व अध्यक्ष सुनिल खेतानका भाई समेत हुन् । उनको यो कम्पनीले केवाईबी ब्रान्डको शक एब्जर्वर सहित अन्य थुप्रै ब्रान्डका स्पेयर पार्ट्स बिक्री–वितरण गरिरहेको छ ।
कार्यसमितिमा भएका अन्य सदस्यमध्ये करण चौधरीका साथै राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, मिलनबाबु मल्ल, यमुना श्रेष्ठ, प्रकाश कपुरीबाहेक अन्य सबै स्पेयर पार्ट्स व्यवसायमै संलग्न छन् ।
- चुलिँदो असन्तुष्टि
नाडाले व्यवसायीहरुको हितमा खासै काम गर्न नसकेको भनेर आलोचना खेप्दै आएको छ । मन्त्री र सरकारी निकायका प्रमुखहरुलाई भेटेर सुझाव दिने कार्य मात्र गरेको, तर नतिजा नआएको भनेर व्यवसायीहरुले नै चर्चा गर्न थालेका छन् । यो अवस्थामा ‘इफोर्ट’ भन्दा ‘रिजल्ट’ हेर्नुपर्छ भन्ने जमात बढ्दै गएको छ । यस प्रकारको असन्तुष्टिलाई चिर्नु नै अबको प्रमुख चुनौती रहेको छ ।
अब
नाडाको विधानअनुसार अध्यक्ष बाहेक १७ जना निर्वाचित सदस्य, प्रदेशबाट ७ जना, ३ जना अध्यक्षबाट मनोनित र निवर्तमान अध्यक्ष स्वतः कार्यसमिति सदस्य रहने प्रावधान रहेको छ । २९ जनाको कार्यसमितिबाट एक जना अध्यक्ष, ४ जना उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष एक/एक जना गरी कुल ९ जनाको पदाधिकारी टिम बन्ने छ ।





























प्रतिक्रिया