प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम पारित

प्रदेश नं. २ सरकारको नीति तथा कार्यक्रम पारित

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रदेश नं. २ सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबारको बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रमलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख सरोजकुमार यादवले सो प्रस्ताव बहुमतबाट पारित भएको घोषणा गरेका थिए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस लगायत प्रतिपक्षी दलका सभासदहरुले नीति तथा कार्यक्रमको विरोध गर्दै प्रस्तुत गरेको संशोधन प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो । प्रदेशसभा सदस्यहरु बाबुलाल साह, दिलीपकुमार साह, शिवचन्द्र चौधरी, गोविन्दबहादुर न्यौपाने, रुबीकुमारी कर्ण, नरेशकुमार यादव, सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ लगायतकाले संशोधन प्रस्ताव पेश गरेका थिए ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री राउतले प्रदेश सरकारको भूमिकालाई प्रभावकारी बनाउँदै स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्दै समृद्धि र विकासमा अघि बढ्ने धारणा व्यक्त गरे । छलफलमा छुटेका विषयवस्तुलाई आगामी दिनमा समेटेर लैजाने मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री राउतले यस प्रदेशलाई नमूना प्रदेश बनाउने बताउँदै यसका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए । गत बुधबारको बैठकमै प्रस्तुत गरिने कार्यसूचीमा रहेको नीति तथा कार्यक्रम पारित हुन नदिन सत्तारूढ दलका सांसदहरु अनुपस्थित रहँदै आएका थिए । प्रदेशसभाको अर्को बैठक असार १ गते साँझ ५ बजे बस्नेछ ।रासस

Logo