काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गर्नुभएको ‘राष्ट्रऋण उठाउने विधेयक २०७७’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकले ५ खर्ब २४ अर्ब ५० करोड रुपैंयाँ राष्ट्रऋण उठाउने गरी सरकारले ल्याएको विधेयकलाई बहुमतले पारित गरेको हो । विधेयकमाथि दफावार छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले जबसम्म कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत भन्दा बढी राजश्व उठ्दैन तबसम्म ऋणमा भर पर्नु पर्ने अवस्था रहेको बताए ।
उनले सरकारको खर्च नै कूल गार्हस्थ उत्पादनको एक तिहाई रहेकाले ऋण उठाउनै पर्ने बताए । उनले कोरोनाको संक्रमण जोखिमको अवस्थाबाट आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अवस्थामा सरकारले नै सक्रिय रुपमा बजारलाई चलायमान नबनाउने र आर्थिक क्रियाकलाप नबढाउने हो भने कठिन हुने बताए । उनले निजी क्षेत्रले धेरै आर्थिक क्रियाकलाप गरी सामान्य अवस्था भन्दा माथि पुग्यो भने धेरै राजश्व उठने र अनुमान गरे जति ऋण उठाउनु नपर्ने बताए । उनले आन्तरिक ऋणलाई पहिलोपटक कुन क्षेत्रमा खर्च गर्ने स्पस्ट गरेर मात्र उठाउने गरी व्यवस्था गरिएको बताए ।
आन्तरिक ऋण उठाएको रकम फजुल खर्च वा अनावश्यक खर्चमा विनियोजन भए प्रश्न उठाउन आग्रह गरे । ऋण तिर्न सक्ने गरी उपयोग हुने ठाउँमा मात्रै ऋण रकमको उपयोग गर्ने प्रतिवद्धता अर्थमन्त्री खतिवडाले जनाए ।
छलफलमा सांसदहरुले देशको सञ्चालन खर्च समेत ऋण उठाएर गर्न नहुने भन्दै संशोधनको प्रस्ताव राखेका थिए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल र नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संशोधन प्रस्ताव दर्ता गराएका थिए । सांसदहरुले सरकारले लिने ऋण कोभिडबाट असर परेको अर्थतन्त्र र कृषि उत्पादन बढाउने आयोजनामा मात्रै खर्च गर्नु पर्नेमा जोड दिएका छन् । ऋणको दुरुपयोग भएकाले उत्पादन नबढेको भन्दै सांसदहरुले ऋणको व्यवस्थापनमा सरकार अनुसाशित भएर काम गर्नुपर्ने बताए ।





























प्रतिक्रिया