काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशभित्रै उद्यमशीलताको विकास गरी औद्योगिक लगानीको प्रवर्धन गर्ने सोचका साथ सरकार प्रयासरत रहेको बताएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत आफ्नो मन्त्रालयका बारेमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले उद्यमशील जनशक्ति तयार पारी उत्पादन वृद्धि गरी व्यापार घाटा कम गर्ने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको बताए ।
कोरोनाका कारण मुलुकको उद्योग क्षेत्रमा परेको प्रभावलाई न्यून गर्दै उद्योगी, श्रमिक तथा आम उपभोक्ताको हितका लागि सरकारले उच्च प्राथमिकताका साथ नीति तथा कार्यक्रम र बजेटको विनियोजन भएको स्पष्ट पारे। सीमित बजेटका कारण सबैको माग सम्बोधन गर्न नसकिएकामा क्षमा माग्दै उनले बाँकी रहेका कार्यक्रम आगामी आवमा समावेश गर्ने विश्वास दिलाए ।
औद्योगिक लगानीको विस्तारका लागि बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले उद्योग क्षेत्रका लागि विनियोजन गरिएको बजेटको पूर्ण रुपमा कार्यान्वयन गर्ने लक्ष्यका साथ प्रक्रिया अगाडि बढाउने र त्यसका लागि नीतिगत, प्रक्रियागत एवम् संस्थागत सुधारको कामलाई विशेष ध्यान दिइने दृढता व्यक्त गरे । स्थानीय कच्चा पदार्थ, पूँजी र सीपलाई प्रयोग गरी साना, मझौला तथा घरेलु उद्योगको विकासका लागि बजेट उपलब्ध गराइएको जानकारी दिँदै मन्त्री भट्टले आगामी आवमा स्थानीय तहमा १३० औद्योगिक ग्राम स्थापना गरी रोजगारी अभिवृद्धि गरिने बताए ।
सरकारले खाद्यान्नको समुचित वितरणका लागि सङ्घ तथा सबै प्रदेशमा गरी तीन लाख १० हजार मेट्रिक टन क्षमताको खाद्य भण्डारण गृह निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिँदै मन्त्री भट्टले खाद्य भण्डारण गृह र बिक्री कक्ष स्थापना गर्दा किसान तथा उपभोक्ताले राहत पाउने उल्लेख गरे । यस्तै सार्क खाद्य सुरक्षा बैंक र राष्ट्रिय खाद्य सुरक्षा भण्डारणमा नेपालका तर्फबाट गर्नुपर्ने योगदानलाई बढाउने, आपूर्ति सम्बन्धी सार्वजनिक संस्थानको भण्डारण क्षमता विस्तार गरी खाद्य वस्तुको सहज उपलब्धता र मूल्य नियन्त्रण गर्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।
आगामी वर्ष चोभार र रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र, कञ्चनपुरको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाहको निर्माण र हुम्लाको यारी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का तथा ताप्लेजुङको ओलाङचुङ्गोलामा व्यापार पूर्वाधार विकास कार्य अघि बढाइने मन्त्री भट्टले उल्लेख गरे । स्वदेशी कच्चा पदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने र निर्यातमूलक प्रकृतिका उद्योगको स्थापना र विस्तारलाई विशेष प्रोत्साहन गरिने जानकारी दिँदै मन्त्री भट्टले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र एवं औद्योगिक ग्राममा स्थापना हुने उद्योगलाई कर प्रणालीमार्फत थप प्रोत्साहन गरिएको उल्लेख गरे ।





























प्रतिक्रिया