काठमाडौं ।
अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोनाको प्रभावकै बीच आर्थिक गतिविधीहरु अगाडी बढाउनु पर्ने बताएका छन् ।
कोरोनाको प्रभाव सकिएपछि गरौँला भनेर अर्थतन्त्रमा समस्या पर्ने भन्दै अर्थमन्त्री खतिवडाले कोरोनालाई जितेर आर्थिक क्रियाकलाप अगाडी बढाउनु पर्नेमा जोड दिएका हुन् । उनले नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा यस्तो बताएका हुन् ।
आर्थिक क्रियाकलाप मध्येको पूँजीबजार पनि सञ्चालन हुनु पर्ने अर्थमन्त्री खतिवडाको भनाइ थियो । ‘धितोपत्र बजार बन्द गर्दा सेयर मात्र हुनेहरुलाई अप्ठेरो पर्न सक्छ, त्यसैले अब बजार खोल्नु पर्छ ।’ उनले भने । सरकारले जीवन रक्षासँगै आर्थिक क्रियाकलापलाई चलायमान गर्ने योजना बनाएको भन्दै उद्योग ब्यवसाय चलाउन सरकारले काम गरिरहेको अर्थमन्त्री खतिवडाको भनाइ थियो । उनले धितोपत्र बजार चलाउनलाई तरलता चाहिने भन्दै तरलता ब्यवस्थापन धितोपत्र बोर्ड तथा नेप्से मिलेर उपलब्ध गराउन सकिने बताए ।
त्यस्तै, उनले शेयरको मूल्य अनुमान योग्य बनाउन स्टक डिलरको अवधारणामा काम भइरहेको जानकारी दिए । वित्तीय साक्षरता सबैतिर नपुगेको भन्दै बैंक खाता, बीमामा सरकार जिम्मेवारी हुनुपर्ने बताए । वित्तीय औजारका बारेमा पनि सर्वसाधारणलाई जानकारी दिनु उचित हुने उनको भनाइ थियो । त्यस्तै, अर्थमन्त्री खतिवडाले क्रेडिट रेटिङलाई विश्वास योग्य बनाउँदै यसको लागत घटाउन आग्रह गरेका छन् । उनले सार्क स्तरीय पूँजी बजारका सन्दर्भमा पनि सोच्ने बेला आएको बताएका छन् । त्यसका साथै सरकारले लक्षित गरेको आगामी आर्थिक वर्षको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अर्थमन्त्री खतिवडाले बताए ।





























प्रतिक्रिया