‘हामी आफैंले रोजगारी सिर्जना गर्ने होइन, रोजगारी सिर्जना गर्ने व्यवसायमा लगानी बढाउने हो’ : अनुपमा खुञ्जेली (सिइओ, मेगा बैंक)

‘हामी आफैंले रोजगारी सिर्जना गर्ने होइन, रोजगारी सिर्जना गर्ने व्यवसायमा लगानी बढाउने हो’ : अनुपमा खुञ्जेली (सिइओ, मेगा बैंक)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

यतिबेला कोरोना भाइरसका कारण विश्व आक्रान्त बनेको छ । विश्वको अर्थतन्त्र तहसनहस भएको छ । विश्वका विभिन्न मुलुकहरुले राहतका प्याकेजहरु पनि धमाधम सार्वजनिक गरिरहेका छन् । जसको असर बैंकिङ क्षेत्रमा पनि परेको छ । अति आवश्यकीय सेवा भएपनि बैंक तथा वित्तीय संस्थाहरु पूर्णरुपले संचालन हुन पाएका छैनन् भने कोरोनाकै कारण बैंकको निक्षेप तथा कर्जा लगानी प्रभावित भएको छ । ऋणीले समयमा ऋणको सावाँ तथा ब्याज तिर्न नसकेका कारण बैंकको नाफाका साथै खराब कर्जाको दर पनि बढ्ने देखिएको छ । यिनै विभिन्न विषयमा केन्द्रीत रहेर मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीसँग केन्द्रबिन्दुका लागि कमला अर्यालले गरेको कुराकानीको सम्पादित अंशः

कोरोना भाइरसले बैंकिङ क्षेत्रमा कस्तो असर पारेको छ ?

सरकारले मुलुकमा लकडाउन गरेदेखि नै सामान्यतया बैंक, बीमा, उद्योग व्यवसाय, रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र प्रभावित छन् । यो बेलादेखि नै बैंकका केही शाखा र एटिएमहरु पनि खुलिरहेका छन् । अब चाहीं बैंकका सबै शाखाहरु खोलेर काम गर्ने भन्ने योजनाका साथ अघि बढिरहेका छौँ । मुलुकमा लकडाउनको अवस्था भएपनि बैंकिङ सेवा दिने काममा भने असर परेको छैन भन्ने मलाई लाग्छ । किन कि सबै बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल सेवा प्रदान गरेका छन् । जसको माध्यमबाट घरमै बसेर पनि आफूलाई आवश्यक बैंकिङ कारोबार गर्न सक्छन् । बैंकले दिने सेवा त सुचारु भइरहेको छ । तर व्यापार व्यवसाय , उद्योगधन्दा बन्द हुँदा त्यसको असर बैंकिङ क्षेत्रमा परेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप र नयाँ कर्जा लगानीमा यसले प्रत्यक्ष असर पारेको देखिन्छ । कर्जाको तुलनामा निक्षेप केही मात्रामा बढेको देखिन्छ । आफूसँग भएको निक्षेप राख्न आउने भएकाले केही मात्रामा मात्रै निक्षेप बढेको हो । तर पहिलेको तुलनामा प्रभावित भएको छ । अति आवश्यकीय सेवा भएपनि बैंकिङ क्षेत्र पनि पूर्णरुपमा संचालन हुन नसकिरहेको अवस्था हो । आधाआधी मात्रै संचालन भइरहेको छ ।

बैंकिङ क्षेत्रमा कोरोनाले निम्त्याएको क्षतिलाई परिपूर्ति गर्न कति समय लाग्ला त ?

मलाई त यो लकडाउन खुलेपछि सामान्यतया आन्तरिक रुपमा नर्मल हुँदै जान्छ भन्ने जस्तो लाग्छ । पर्यटन लगायतका क्षेत्रमा अन्र्तराष्ट्रिय रुपमा अलि समस्यै होला । तर बाँकी सामान्य अवस्थामा फर्कँदै जान्छन् भन्ने लाग्छ । जस्तो कृषि हामी आफै‌ले गर्न सक्ने कुरा भयो । हामीलाई अरुको मुख ताकिरहनु पर्दैन । यसलाई राम्रो पक्ष मान्न सकिन्छ । यसका लागि राष्ट्र बैंकले पनि सहुलियत दिएको छ । अब आफ्नै देशभित्र केही गर्न सकिन्छ, उत्पादनमुखी भएर कसरी अगाडी बढ्न सकिन्छ भन्ने कुरालाई हेरेर अगाडी बढ्नु पर्ने देखिन्छ । कोरोनाका कारण विश्व अर्थतन्त्र नै खराव अवस्थामा जान्छ कि भन्ने आँकलन छ नि त अहिले । हाम्रो मुलुकमा असर पर्दैन भनेर त हामीले भन्न सक्दैनौँ नि । अब लकडाउन खुलेपछि उद्योग व्यवसाय, कलकारखाना कत्तिको र कसरी संचालनमा आउँछन् , हामी कत्तिको विश्वासका साथ बजारमा आउन सक्छौँ भन्ने कुरामा भर पर्छ । लकडाउन खुले पनि उद्योग व्यवसायहरु संचालन भएपनि सामाजिक दुरी चाहीं लामै समयसम्म कायम नै रहन्छ होला जस्तो लाग्छ मलाई । यसले गर्दा कोरोनाको असर चाहीं अलि लामो समयसम्म रहने देखिन्छ ।

सरकारले कृषिलाई प्राथमिकता दिँदै यस क्षेत्रमा पनि नयाँ रोजगारी सिर्जना गर्ने भन्ने कुरा बजेटमार्फत ल्याएको छ । कृषि क्षेत्रमा लगानी गर्न बैंकहरु कसरी अगाडी बढ्ने योजनामा छन् ?

कृषिलाई व्यवसायिकरण गरेर लैजाँदा विदेशमा समेत निर्यात गर्न सकिने अवस्था पनि आउँछ कि, किन भने हामीले अलिकति जग्गामा उत्पादन गरेर खाने भनेको त जीवन निर्वाह गर्न मात्रै हो । त्यस्ता ठाउँमा लगानी गर्न बैंकलाई पनि गाह्रै हुन्छ । त्यसकारण व्यवसायीक कृषिलाई ध्यान दिएर अगाडी बढ्नुपर्छ भन्ने मलाई लाग्छ । १५ लाखसम्मको ऋण त बैंकले जग्गा धितो नै नराखी दिएको छ त । महिला उद्यमीहरुलाई पनि हामी ऋण दिइरहेका छौँ । राष्ट्र बैंकले बजेटमार्फत वाणिज्य बैंकहरुका एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत ऋण दिनुपर्ने भनेको छ । यसक्षेत्रमा बैंकको पैसा फ्लो त हुन्छ तर जसले काम गर्ने हो उसले पनि कमाएर बैंकको ऋण तिर्न सक्ने अवस्था चाहीं हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । कृषिमा लगानी गर्नुपर्छ भन्ने सोँच आएको छ, बैकर्समा । तर आजको भोलि नै परिवर्तन आउँछ भन्ने चाँही होइन । यसका लागि सरकार, राष्ट्र बैंक, बैंकहरु सबैको सपोर्ट छ । त्यसकारण कृषिक्षेत्रका लागि दिइएका सुविधाहरुलाई उपयोग गर्दै कृषिलाई आधुनिकीकरणतर्फ लैजानुपर्छ ।

सरकारले बजेटमार्फत थप नयाँ रोजगारी सिर्जना गर्ने कुरा उठाएको छ । बैंकिङ क्षेत्रले नयाँ रोजगारी सिर्जना गर्न कसरी काम गर्ने योजनामा छन् ?

हामीले बैंकिङ क्षेत्रमा नयाँ रोजगारी थप्न शाखा विस्तार गर्ने नयाँ कर्मचारी राख्ने गर्नुपर्छ । त्यसो गर्न अबका दिनमा समस्यै होला । हामीले गर्ने भनेको विजनेशमा लगानी हो । हामीले कुनै विजनेशमा लगानी गर्दा त्यसले रोजगारी त सिर्जना गर्छ नि । त्यसैले हामीले आफैंले रोजगारी विस्तार गर्नु भन्दा पनि रोजगारी सिर्जना गर्ने खालका व्यवसायमा लगानी गर्नुपर्छ ।

लकडाउन भए यता कर्जा असुलीको अवस्था कस्तो छ ?

यो अवस्थामा कर्जा असुली भएको छैन । यतिबेला अदालत पनि बन्द नै छ । ग्राहकहरुलाई पनि अहिले तिर्न सक्ने अवस्था पनि छैन । यस्तो बेलामा हामीले ग्राहकहरुलाई पनि दुःख दिनु पनि भएन । हामी कसैले पनि कल्पना नगरेको भयावह अवस्थाको सामना गर्नु परेको छ नि त । यस्तो अवस्थामा ग्राहकहरुलाई अत्याउने कुरा पनि भएन । अहिलेको अवस्थामा सामान्य व्यवसाय पनि संचालन नभएका अवस्थामा कर्जा असुलीतर्फ लाग्यौँ भने त्यसको उपलब्धी केही रहँदैन । यस्तो बेलामा ग्राहकबाट कर्जा असुलीको आशा गर्नु नै गल्ती हो । लकडाउन खुलेपछि व्यापार व्यवसाय चलायमान भएपछि भने केही त्यस सम्बन्धी काम विस्तारै अगाडी बढाउनुपर्छ भन्ने लाग्छ ।

कोरोना भाइरसका कारण चैत्र मसान्तको बैंकको वित्तीय विवरणमै केही बैंकको खराब कर्जा बढेको देखिएको छ । असार मसान्तसम्म त खराब कर्जाको रेसियो झन माथि जान्छ होला नि ?

कोरोनाका असर सबै बैंकहरुलाई उत्तिकै मात्रामा पर्छ । त्यसले खराब कर्जाको रेसियो पनि बढाउँछ । हाम्रो मुख्य आधार भनेकै ग्रहकको तिर्न सक्ने क्षमता हो । अहिले उद्योग व्यवसाय क्षेत्रका सबै ग्राहकहरुको क्यास फ्लो बन्द भएको अवस्था छ । हामीले ग्राहकहरुको व्यापार व्यवसाय संचालन गर्नुका साथै त्यसलाई रिकभर गर्न सम्म सहयोग गर्नुपर्छ । राष्ट्र बैंकले पनि १० प्रतिशत सम्मको अतिरिक्त ऋणको व्यवस्था गर्न मिल्ने भनेको छ । यसले गर्दा यो अवधीमा उठ्ने पैसा जति सबै थुप्रेर बसेको छ । त्यसैले असार मसान्तको व्यालेन्सीट आउँदा त्यति सहज अवस्था भने देख्दिन जस्तो मलाई लाग्छ । सबै बैंकहरुलाई गाह्रै पर्छ । ग्राहकहरुले कमाउन सके मात्रै न तिर्छन्. बैंकको ऋण । यो हामीले नाफा हेर्ने बेला होइन्, कसरी आफ्ना ग्राहकलाई टिकाइ राख्ने, उनीहरुको व्यापार व्यवसाय कसरी टिकाइ राख्ने भन्ने कुरा हेर्ने बेला हो अहिले ।

नाफामा पनि त असर पारेको छ कोरोनाले, असार मसान्तसम्म त झन घट्ला नि नाफा पनि ?

नेपाल राष्ट्र बैंकले नै स्प्रेडदर ४.४ मा झार्न भनेको छ । त्यसले गर्दा पनि बैंकको नाफामा केही कमी आएको छ । र असार मसान्तसम्म अझै घट्छ नै । त्यसका साथै एनएफआरएसका कारण पनि बैंकको नाफा केही खुम्चिन्छ ।

राष्ट्र बैंकले कोरोनाका कारण क्षति भएका उद्योग व्यवसायलाई २ प्रतिशत ब्याजदरमा छुट दिने निर्णय गरेको थियो । यसमा पहिले सहमत नभएका बैंकहरु पछि कसरी सहमत भए ?

मैले पहिले पनि भनिसकें कि हामीले आफ्ना ग्राहकहरुलाई पनि टिकाइ राख्नु पर्छ । उहाँहरुलाई डबल चार्ज गरेर तिर्नै नसक्ने अवस्थामा पु¥याउनु भएन । यदि हामीले त्यसो ग¥यौँ भने त फेरि ग्राहकहरुको व्यापार व्यवसाय खतमै हुन्छ । त्यसैले हामीले आफ्ना ग्राहकहरुलाई राहत दिनुपर्छ ,सहयोग गर्नुपर्छ । यो अवस्थामा सहयोग ग¥यौँ भने भोलि कमाउने दिन त आइहाल्छ नि । त्यसकारण राष्ट्र बैंकले भनेका, निर्देशन दिएका कुरामा हामी सहमत हुनैपर्छ । त्यसमा हाम्रो असहमती भन्ने कुरै होइन । यो राहत दिएर हाम्रा ग्राहकहरुलाई सजिलो हुन्छ भने किन नगर्ने भनेर हामी अगाडी बढेका हौँ ।

उद्योग व्यवसायलाई ऋणको सावाँ ब्याज तिर्ने म्याद थपे पनि कतिपय बैंकहरुले किस्ता माग्ने गरेको गुनासो आइरहेको छ नि ?

लकडाउन भएपनि कतिपय व्यवसाय त चलिनै रहेका छन् । खाद्यान्न, औषधी, पानी, दुग्ध लगायतका व्यवसाय त चलि नै रहेका छन् । जुन क्षेत्रको व्यापार व्यवसाय भएको छ । त्यो क्षेत्रका ग्राहकहरुको ऋण तिर्न सक्ने क्षमता भयो भने तिर्दा फरक पर्दैन भन्ने मलाई लाग्छ । तर कोरोनाका कारण पुरै व्यापार व्यवसाय ध्वस्त नै भएको छ, त्यस्तो क्षेत्रमा कुनै पनि बैंकले पैसा तिर्न आउनुहोस भन्छन् जस्तो मलाई लाग्दैन र भने पनि तिर्नै नसक्ने अवस्था भएपछि त्यसको कुनै अर्थ नै छैन । कसरी ग्राहकलाई सहज हुन्छ हामीले त्यसै गरेका छौँ । किन की हाम्रो व्यापार व्यवसाय राम्रो भएको ग्राहकै कारण हो । त्यसकारण ग्राहकहरुलाई अप्ठेरो परेको अवस्थामा हामीले सहयोग गर्नुपर्छ ।

कोरोनाका कारण धेरै क्षेत्रमा रोजगारी गुम्ने तथा सेवा सुविधा कटौती भइरहेको छ । बैंकिङ क्षेत्रको अवस्था के छ ?

लकडाउन असारभित्रै खुल्यो भने एउटा सिनारियो र थप ३ महिना लम्बियो भने अर्कै सिनारियो होला । त्यसैले बैंकिङ क्षेत्रमा केही मात्रामा असर पर्दा के गर्न सकिन्छ र निकै खराब अवस्था आउँदा के गर्न सकिन्छ भनेर हामी लागिरहेका छौँ । त्यसका साथै नेपाल बैंकर्स संघले पनि खर्च कटौती कहाँ कहाँ गर्न सकिन्छ भनेर ल्याइसकेको छ । त्यसकै आधारमा हामी अगाडी बढ्छौँ ।

Logo