काठमाडौं ।
काठमाडौं महानगरले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालक सबै (१ हजार ९८२ जना) को कोरोना बीमा गराएको छ । जेठ २२ गते बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरेर बीमा गराएको हो ।
सम्झौतामा महानगरकातर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र लिमिटेडकातर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका थिए । अनुकुल प्रतिकुल जुनसुकै समयमा पनि सेवाग्राहीका बीचमा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको हो । सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, -‘हामीले जनप्रतिनिधि र सबै कर्मचारीरुको (स्थायी, अस्थायी, करार र सामाजिक परिचालक, पत्रकार/सञ्चारकर्मी, स्वास्थ्यकर्मी, नगर प्रहरी) बीमा गराएका छौं ।’ यसले महामारी नियन्त्रणको काम गर्दा उत्पन्न हुन सक्ने जोखिममा धेरै, थोरै जति भए पनि क्षतिपूर्ति निश्चित भएको छ, प्रमुख प्रशासकीय अधिकृत अर्यालको भनाइ छ ।
सम्झौता बमोजिम आउँदो बर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिहरुमा पिसिआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलो पटक पोजेटिभ देखिए महानगरको शिफारिसमा १ लाख रुपैयाँ प्राप्त हुनेछ । लिमिटेडका मुख्य व्यवस्थापक कोइराला भन्छन्,-‘सम्झौताको मुख्य शर्त यही हो ।’
महानगरका प्रशासन विभागका प्रमुख ढकालका अनुसार प्रतिव्यक्ति ६०० रुपैयाँ शुल्क तिरेर १ बर्षका लागि बीमा गरिएको हो । ढकालका अनुसार महानगरमा १६० जना जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक छन् । यसैगरी स्थायी अस्थायी करार र सञ्चारकर्मी गरी १ हजार ७९२ जना जनशक्ति छन् ।





























प्रतिक्रिया