काठमाडौं ।
व्यवसायीहरुद्वारा व्यापक विरोध भएपछि सरकारले कर भुक्तानीको समय असार ७ गतेसम्म थप गरेको छ । यस अघि सरकारले जेठ २५ गतेसम्म कर भुक्तानी गर्न व्यवसायीहरुलाई ताकेता गरेपछि विरोध भएको थियो । विरोध पछि कर भुक्तानीको विवरण असार ७ सम्म बुझाई सक्नु पर्ने र कर दाखिला असार १५ सम्म गरिसक्ने गरि समय थपिएको हो ।
बुधबार अर्थ मन्त्रालयमा उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँगको छलफलमा अर्थसचिव शिशिरकुमार ढुंगानाले अर्थ मन्त्रालय कर भुक्तानीको समय थप गर्न तयार रहेको बताएका थिए।
कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले करिब ३ महिनादेखि मुलुक लकडाउनमा रहेता पनि अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले जेठ २५ गतेसम्म व्यवसायीलाई सम्पूर्ण कर भुक्तानी गरिसक्न मंगलबार सार्वजनिक सूचना जारी गरेको थियो।
विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम ०७६ साल फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर (फागुनको चौमासिक कर विवरण) बुझाउनु पर्ने सूचनामा उल्लेख गरेको छ। यस्तै अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ फागुन र चैत महिनाको बुझाउनु पर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तःशुल्क दाखिला पनि जेठ २५ गतेसम्म गरिसक्नु पर्नेछ।
लकडाउन जेठ ३२ गतेसम्म निरन्तर रहने सरकारको घोषणा छ । तर कर भने २५ गतेभित्रै बुझाउने उर्दीका कारण व्यवसायीका साथै सरोकारवालाहरु अतङकित भएका छन् भने सामाजिक सञ्जालमा समेत सर्वसाधारणले अर्थमन्त्री डा. युवराज खतिवडाको कदमप्रति विरोध जनाएका छन् ।
राजस्वले सूचना जारि गरेपछि उद्योगी व्यवसायीहरु त्रसित हुँदै नेपाल उद्योग वाणिज्य महासंघले कर तिर्नुपर्ने समय अवधिको म्याद थप गर्न समेत अनुरोध गरेको थियो । महासंघले पत्रमा विश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनले उद्योग, कल कारखाना, व्यापार व्यवसाय बन्द रहेकाले जेठ २५ गतेसम्म कर तिर्न नसक्ने जनाएको थियो ।
































प्रतिक्रिया