बजेटमा मेलम्ची खानेपानी : झुट बोल्दै बजेट थप्दै

बजेटमा मेलम्ची खानेपानी : झुट बोल्दै बजेट थप्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले काठमाडौँवासीलाई मेलम्चीको पानी दिने आश्वासन दिएको धेरै वर्ष भइसकेको छ । तर मेलम्चीको खानेपानी दिन सकेको छैन ।

हरेक वर्षको बजेट आउँदा मेलम्ची खानेपानीको विषय उठान भएको देखिन्छ । तर काठमाडौँबासीलाई खानेपानी भने अझै आउन सकेको छैन । सरकारले आगामी वर्षको बजेटमा पनि मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न बजेट विनियोजन गरेको छ । गत बिहीबार अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै मेलम्ची खानेपानी आयोजनाको दोस्रोचरण निर्माण शुरु गर्नको ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

त्यस्तै, सरकारले आगामी आवमा काठमाडौं उपत्यका खानेपानी तथा ढल निकासा व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रविधिक र वित्तीय अवस्था सुदृढ गर्न र संस्थागत पुर्नसंरचना गरी व्यवसायीक संस्थाको रुपमा विकास गर्न १ अर्ब ९९ करोड विनियोजन भएको छ । आगामी आर्थिक वर्षमा खानेपानी तथा सरसफाई मन्त्रालयलाई ४३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आवमा मन्त्रालयका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

सरकारले बजेटमार्फत मेलम्ची खानेपानी आयोजनाको आवश्यक पूर्वाधार निर्माण कार्य चालु आवभित्र सम्पन्न गरी आगामी आवको शुरुदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने बताएपनि विश्वास गर्ने कुनै आधार छैन । किन कि यसअघि पनि सरकारले कयौँ पटक यसरी नै जनतालाई विश्वस्त गराउँदै आएको थियो । सरकारले मेलम्चीको बाँकी कामका लागि सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार कामको प्रकृति अनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइने बताएको छ ।

सरकारले हरेक वर्ष यसरी नै मेलम्ची खानेपानी आयोजनाका लागि बजेट थपेको थप्यै छ । तर काम भने बर्षौं हुँदा पनि सकेको छैन । बजेटमा आगामी साउनदेखि नै उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउने भनिएको छ । तर आगामी साउनमा खानेपानी आउला भन्ने उत्पत्यका बासीमा रतीभर विश्वास छैन । अब काठमाडौँबासीका लागि पनि मेलम्ची खानेपानीको विश्वास उडिसकेको छ ।

आयोजनाले पटक पटक विभिन्न कारण देखाउदै म्याद थप्दै काम गर्दै गरेको भएपनि उपत्यकामा पानी ल्याउन भने सकेको छैन । दुई वर्ष अघि फागुन महिनाभित्र उपत्यकामा पानी पु¥याउन विकास समितिले सरकारलाई निर्देशन दिएको थियो । विना मगर खानेपानी मन्त्री भएपछि उपत्यकाबासीलाई खानेपानी पु¥याई छोड्ने बताएकी थिइन् । उनले गतवर्षको दशैंमा जसरी पनि उपत्यकाबासीलाई पानी खुवाउने बताएकी थिइन् । तर मन्त्री मगरको दशैं अझैसम्म आएको छैन । सरकारका मन्त्री तथा कर्मचारीको लापर्वाहीका कारण कयौँ प्रयास गर्दा पनि काठमाडौँवासीले पानी खान पाएका छैनन् । मेलम्ची खानेपानीको कामको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले गत पुसमा कम्पनी आर्थिक संकटमा परेको भन्दै ठेक्का तोडेपछि आयोजनाको काम ठप्प छ ।

Logo