‘सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ’ : मन्त्री अर्याल

‘सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ’ : मन्त्री अर्याल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छिन् ।

मंगलबार नेपाल चेम्बर अफ कर्मशको आयोजनामा भएको नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भएपनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी हुन् । सरकारले कृषिको व्यवसायिकरण, औद्योगिकरण, यान्त्रिकरण र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानून निर्माण गरेको उनको भनाइ छ ।

सरकारले नीति निर्माणको साथसाथै कार्यक्रम पनि अघि सारेको उनले बताइन् । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानहरुलाई उत्साहित बनाउन कृषि फर्महरुको सुरुवात भएको उनको भनाइ छ । मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानून आफू भूमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिइन् । उनले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा नीजि क्षेत्रसँग पनि सहकार्य गरिने बताइन् ।

मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखी उत्पादन गरेर मात्रै नहुने भन्दै व्यवसायिक उत्पादनका निम्ति कहाँको जमिनमा के उत्पादन हुन्छ कम्युटरबाटै पत्ता लगाउन सक्ने सफ्टवेयर विकास गरेर फागुनको पहिलो हप्ता उदघाटन हुने पनि बताइन्।

Logo