काठमाडौं ।
विकास निर्माणको सिजन सुरू भएसँगै छड लगायत निर्माण सामाग्रीको मूल्य दुई महिनादेखि लगातार रुपमा बृद्धि भएको छ । निर्माण सामाग्री छडको मूल्य पछिल्लो समय ५० देखि ६० प्रतिशतले बृद्धि भएको छ ।
कोरोना महामारीका कारण करिव ९ महिनासम्म विकास निर्माणका काम ठप्प नै रहेका थिए । तर पछिल्लो केही महिनादेखि विस्तारै विकास निर्माणका कामहरु अगाडि बढेका छन् । मंसिर महिनादेखि जेठसम्मलाई निर्माणको सिजन मानिन्छ । यहि अवधिमा सरकारका ठूला विकास निर्माणदेखि व्यक्तिगत घर निर्माण समेत हुने गरेका छन् ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको बेलामा स्थिर रहेको निर्माण सामाग्री फलामे छडको मूल्य गत मंसिर लागेदेखि अत्याधिक रुपमा बृद्धि भएको छ ।
असोजसम्म विभिन्न स्टिल कम्पनीहरुको छडको मूल्य प्रतिकिलो ७५ देखि ८५ रूपैयाँ रहेको थियो । तर मंसिर लागेसँगै लगातार रुपमा ६० प्रतिशतसम्म मूल्य बृद्धि भएर अहिले प्रतिकिलो १ सय २० रुपैयाँसम्म बजारमा कारोबार भइरहेको छ ।
यसरी निरन्तररुपमा मूल्य बृद्धि भएको गुनासो आएपछि छड निर्माण कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा बिलेट (छड बनाउने कच्चा पदार्थ) को मूल्य बढेर आएकाले नेपाली बजारमा पनि छडको मूल्य बढेको बताउँदै आएका छन् । तर ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा बढेको अनुपात अनुसार मूल्य बृद्धि नभएर कुनै एउटा व्यक्ति वा उद्योगीहरुले लकडाउनको घाटा उठाउनका लागि कृतिम मूल्य बृद्धि भएको बताएका छन् । उनले सरकारको नियमनकारी निकाय तथा ठूला व्यवसायीहरुको मिलेमतोमा नै लगातार मूल्य बढाएको दाबी गरेका छन् ।
कटुवालले अन्तर्राष्ट्रिय बजारमा ५ प्रतिशत मूल्य बढेको भए पनि नेपालमा कम्पनीहरुले ३० देखि ४० प्रतिशतसम्म बढाएको बताए । उद्योगीहरुले कच्चा पदार्थ विलेटका लागि एलसी खोलेर सम्झौता गर्दा सामान फ्याक्ट्रीसम्म आएर तयार हुँदासम्म एक दुई महिनाको समय लाग्ने गर्दछ । तर अहिले हरेक दिन जसो छड लगायत ग्रिल तथा स्टिलको मूल्य बृद्धि गरिरहेको उनको भनाइ छ ।
कोरोनाले थला पारेको अवस्थामा, राजनीतिक किचलो भएको अवस्थामा कमाउने मौका यही हो भनेर सामानको कृतिम अभाव बनाउने गरि उद्यागीहरुले जथाभावी मूल्य बढाएका छन् । सरकार तथा उद्योगीहरुको मिलेमतोमा नै कार्टेलिङ भएको उनले बताए ।
त्यस्तै, अध्यक्ष कटुवालले ठूलो विकास निर्माण मात्रै नभएर अहिले निजी आवास निर्माणको काम समेत सुस्त भएकाले यससँग सम्बन्धित हजारौं साना व्यवसायी मारमा परेको बताए । अन्य निर्माण सामग्रीको तुलनामा छड कम्पनीले मात्रै निरन्तररुपमा मूल्य बढाएकाले ग्रिल तथा स्टिल व्यवसायी महासंघले अनुगमनको लागि बाणिज्य विभागमा पत्राचार गरेको छ ।
यता ठूला व्यापारीलाई मूल्यबृद्धि सुरु भएदेखि निरन्तररुपमा किन बढीरहेको छ भनेर प्रश्न गरिरहेको तर अन्तर्राष्ट्रिय बजारमा बढेकाले नेपालमा पनि बढेको भन्ने जवाफ भन्दा अरु जवाफ पाउन नसकेको अध्यक्ष कटुवालले बताए । व्यवसायीले प्रतिटन ४५० डलरमा बिलेट किनेर ल्याएका थिए । एक महिनापछि कच्चा बिलेटको मूल्य ६५० डलरमाथि पुग्यो भन्दै कम मूल्यमा किनेको बिलेटबाट तयारी सामानमा ३० प्रतिशत मूल्य बढाएर बेच्न पाइन्छ ?’ उनको प्रश्न छ । अहिले विश्व बजारमा बिलेटको मूल्य प्रति मेट्रिकटन ५ सय ६० डलरमा कारोबार भइरहेको छ ।
लक्ष्मी स्टिलको छड गुणस्तरहिन
विकास निर्माणमा धेरै प्रयोग हुने लक्ष्मी स्टिलका छडहरु गुणस्तरहिन देखिएका छन् । लक्ष्मी स्टिलका छडहरु पछिल्लो समय टुक्राटुक्रा हुने देखिएको छ । घर निर्माणमा प्रयोग गर्ने छड गाडीबाट अनलोड गर्दा समेत टुक्रिने गरेको उपभोक्ताहरुको गुनासो आउन थालेको छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष कटुवालका अनुसार पछिल्लो समय मूल्यबृद्धिसँगै गुणस्तरहिन सामाग्री आउन थालेको छ । छड उद्योगीहरुले छडमा प्रयोग हुने कच्चा पदार्थहरु पनि मिक्स गरेर प्रयोग गर्ने गरेकाले गुणस्तरिय सामान आउन छोडेको उनको भनाइ छ । बजारमा उद्योगीहरुले सामानको अभाव देखाएर विग्रिएको, भाँचिएकाे र बाङ्गिएको छडहरु बिक्री गरिरहेकाले उपभोक्ताहरुले गुणस्तरहिन सामान लैजानु पर्ने बाध्यता रहेको उनको भनाइ छ ।
नेपालमा सबैभन्दा बढी छड उत्पादन गर्ने लक्ष्मी स्टिलले केही समय अगाडि भारतीय छडमा आफ्नो उद्योगको टयाग लगाएर बेचेको आरोप खेपेको थियो भने सरकारले गुणस्तरहिन छड बेचेको भन्दै प्रतिबन्धसमेत लगाएको थियो ।
निर्माण सामाग्रीको गिट्टी बालुवाको पनि निरन्तर मूल्यबृद्धि
पूर्वाधार तथा विकास निर्माणको सिजन शुरु भएसँगै बजारमा निर्माण सामाग्रीको मूल्य पनि अत्याधिक रुपमा बढेको छ । फलामे छडसँगै गिट्टी बालुवाको समेत मूल्य बढेको छ । निर्माण सिजनमा निर्माण सामाग्रीको मूल्य आम उपभोक्ताले कोरोना महामारी सहज होला र निर्माण सामाग्रीको मूल्य पनि घट्ला भन्ने आशा गरेका थिए ।
पछिल्लो पटक सरकारले देशैभरि अवैधरुपमा उत्खनन् भएका गिट्टी, बालुवा रोक लगाउने निर्णय गरेकाले बजारमा गिट्टी, बालुवाको अभाव हुँदै गएपछि बजारमा निर्माण सामग्रीको मूल्य बढ्न थालेको निर्माण व्यवसायीले बताउँदै आएका छन् ।
एक महिना अघिसम्म एक टिपरको २० देखि २२ हजार पर्ने गिट्टी, वालुवा अहिले ३० हजारसम्म पर्ने गरेको छ । अहिले यी सामाग्रीको मूल्य पनि २० देखि २५ प्रतिशत भन्दा माथिले बढेको छ । अहिले खपत बढी हुने सिजनमा नै गिट्टी, बालुवा अभाव शुरू हुन थालेको तथा बजारमा माग अनुसार आपूर्ति नहुँदा मूल्य पनि वृद्धि भएको हो ।





























प्रतिक्रिया