उद्योग खोल्न अझै पासकै समस्या, बजार नखुल्दा कहाँ बेच्ने उत्पादन ?

उद्योग खोल्न अझै पासकै समस्या, बजार नखुल्दा कहाँ बेच्ने उत्पादन ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उद्योग व्यावसायीले पटक पटक प्रयास गरेपछि सरकारले विभिन्न ४४ किसिमका उद्योग व्यावसाय खोल्न अनुमति दिए पनि पासको व्यवस्था नगर्दा उद्योग संचालन हुन सकेका छैनन् ।

उद्योग खोल्ने अनुमति दिने संचालन गर्न पासको व्यवस्था नगर्ने भन्दै व्यावसायीहरु आक्रोसित भएका छन् । ४४ प्रकारका उद्योग व्यावसाय खुल्ने र उत्पादन सुरु भए पनि बजार नखुल्दा उत्पादन कहाँ बेच्ने त्यसको कुनै टुंगो नभएको भन्दै व्यावसायीहरु आक्रोसित भएका हुन् । सरकारले कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न मुलकै भरी गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सो समयदेखि सरकारले अतिआवश्यक भन्दा बाहेक सर्वसाधारणलाई हिँडडुल गर्न सम्म पनि दिएको छैन । उद्योग व्यावसाय संचालन गर्न सरकारले पास नदिएका कारण उद्योग व्यावसाय क्षेत्रमा काम गर्ने कर्मचारी तथा श्रमिकहरुलाई काम गर्ने सम्बन्धीत ठाउँमा जान आउन नै समस्या भएको छ ।

अझै पनि पासको व्यवस्था गर्न नसक्नु सरकारको कमजोरी भएको उद्योग परिसंघका अध्यक्ष सतिश मोरले बताए । ‘सरकारले के गर्न खोजि रहेको छ, अचम्म लागेको छ ।’ अध्यक्ष मोरले बताए । उद्योग खोल भन्ने तर पास नदिने गर्दा उद्योग संचालनमै समस्या भएको उनको भनाइ थियो । पासको समस्याका साथै बजार नखुल्दा पनि समस्या भएको उनको भनाइ छ । ‘उद्योगहरुले उत्पादन गर्ने तर त्यो उत्पादन कहाँ बेच्चे, सरकारले सोच्नु पर्दैन ? अध्यक्ष मोरले भने । सम्बन्धीत कम्पनीको परिचयपत्रलाई मान्यता दिएर काममा जान अनुमति दिनु पर्ने उनले बताए । यस विषयमा सरकारसँग पटक पटक छलफल गर्दा पनि निकास ननिस्किएको उनको भनाइ छ ।

सरकारले उद्योग खोल्ने निर्णय गरे पनि वातावरण सहज नहुँदा पूर्ण रुपमा उद्योग संचालन गर्न नसकिएको अटोमोबाइल्स एशोसियशन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘खै सरकारले उद्योग खोल्ने त भन्यो तर संचालन हुन सकिरहेका छैनन् ।’ अध्यक्ष दुलालले भने । लकडाउनका बीच पनि भारतमा ५० प्रतिशत बजार खोलेको भन्दै नेपाल सरकारले त्यस्तो निर्णय गर्न नसकेको उनको भनाइ छ । संचालन गर्ने वातावरण बनाउन नसक्ने सरकारले किन उद्योग खोल्ने ? भन्ने उनको प्रश्न छ ।

सरकारले उद्योग खोल्ने निर्णय गरेपनि मन्त्रालय, मन्त्रालयबीचमा समन्वय नहुनु नै सबैभन्दा ठूलो समस्या भएको उद्योगी व्यावसायीको बुझाई छ । पासका लागि व्यावसायीहरु कहिले अर्थ मन्त्रालय, कहिले उद्योग मन्त्रालय त कहिले प्रशासन कार्यालय धाउन छोडेका छैनन् ।

‘उद्योग मन्त्रालय उद्योगमा काम गर्नेलाई छोड भन्ने, गृह मन्त्रालय अन्र्तगतको प्रहरीले उद्योग क्षेत्रमा मजदूरलाई बाहिर निस्कन नदिने के गरेको यस्तो ?’ नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ आक्रोश पोख्छन् । त्यसैमाथि उद्योग संचालन गर्न कर चुक्ताका प्रमाणपत्र आवश्यक पर्ने निर्णय गरेपछि व्यावसायीहरु झन रुष्ट बनेका छन् । ‘सरकारले अब हामीलाई सहयोग गर्न के बाँकी रह्यो र ।’ अध्यक्ष श्रेष्ठले भने ।

उद्योग क्षेत्रमा काम गर्ने अधिकांश कर्मचारी तथा मजदूरहरु आ–आफ्ना घरमा गएका छन् । सरकारले विना पास कुनै पनि व्यक्तिलाई बाहिर हिँडडुल गर्न दिएको छैन । यस्तो अवस्थामा एक जिल्लाबाट अर्काे जिल्लामा जान दिने कुरै भएन । जसका कारण विदामा बसेका कर्मचारीहरु काममा फर्कन सकिरहेका छैनन् । केन्द्रका उद्योग व्यावसायीलाई त पासका लागि यतिका समस्या भएको छ भने जिल्ला बाहिरका उद्योगहरु कसरी संचालन गर्ने ? व्यावसायीहरुको प्रश्न छ ।

Logo