ललितपुर महानगरको कृषि बीउ बिजन वितरणमा पक्षपात, कृषकहरु समस्यामा

ललितपुर महानगरको कृषि बीउ बिजन वितरणमा पक्षपात, कृषकहरु समस्यामा

केन्द्रबिन्दु
0
Shares

ललितपुर ।

ललितपुर महानगरपालिकाको कृषि ज्ञानकेन्द्रबाट वर्षैपिच्छे महानगर क्षेत्र भित्रका सबै वडाका तरकारी कृषकलाई वितरण गर्दै आएको बीउ विजनमा यो वर्ष भने पक्षपात रुपमा वितरण गर्न थालिको छ ।

महानगरले तरकारी खेती गर्ने कृषकलाई कृषि ज्ञानकेन्द्रमार्फत विभिन्न तरकारीको बीउ, टनेलको लागि प्याष्टिक, थोपा सिंचाई, प्राङ्गारिक मल वितरण गर्दै आएको छ। केन्द्रले विभिन्न वडामा बसोबास गरि कृषि खेतीमा लागेका कृषकको पहिचान गरि बीउबिजन वितरण गर्दै आएको थियो ।

तर, यो वर्षदेखि ज्ञानकेन्द्रले बीउबिजन वितरणको जिम्मा वडा कार्यालयलाई दिएको छ । वडाले वितरण गर्ने भएपछि ललितपुर महानगरपालिका वडा नं. २८ को वडा कार्यालयले ललितपुर स्थायी घर भएकालाई मात्रै बीउ बिजन वितरण गर्ने र अन्य जिल्लाबाट आएर खेती गरिरहेका कृषकलाई भने केही पनि वितरण गर्न नसकिने बताएको कृषकहरुले गुनासो गर्न थालेका छन ।

महानगरको ज्ञानकेन्द्रले वितरण गर्दा बीउबिजन, प्राङ्गारिक मल तथा टनेलका लागि प्याष्टिक लिंदै आएको तर अहिले वडा मार्फत वितरण गर्ने भएकाले वडामा सिफारिस गर्न जाँदा ललितपुर वडा नम्बर २८ मा स्थायी बासिन्दालाई मात्रै वितरण गरिन्छ । बाहिरी जिल्लाबाट आएकालाई वितरण नगरिने भन्दै वडा नम्बर २८ का वडा अध्यक्ष राजेश कुमार महर्जनले फिर्ता पठाएको हरिसिद्धिमा प्रशंसा पशुपालन तथा कृषि महिला समूह फर्म दर्ता गरेर तरकारी तथा पशुपालन गर्दै आएकी समुहकी सचिव सन्जिता रसाइलीले बताइन् ।

उनका अनुसार महिला समूहमा २१ जना रहेको र सबैले जग्गा भाडामा लिएर तरकारी तथा पशुपालन गर्दै आएका छन् । उनले भनिन्, ‘कोरोना भाइरसले गर्दा तरकारी पनि बारीमा कुहिएर गएको र फेरि खेती लगाउनको लागि पहिलाको जस्तै ज्ञानकेन्द्रले दिन्छ भनेर आशा गरिएको तर अब वडाले दिने भएपछि हामीले पाएनौं ।’

आफूहरुले सबै कुराको आशा पनि नगरेर टनेलको लागि प्लाष्टिक र मल मात्रै पाउने आशा गरेर बसेको तर वडाले तपाईंहरुले पाउनु हुन्न यो यहीं स्थायी घर भएकाले मात्रै पाउँछन् भनी पक्षपात गरेको उनको भनाइ छ।

त्यस्तै समुहकी अध्यक्ष सुनिता रसाइलीको पनि यस्तै गुनासो छ। उनले पनि पहिलादेखि पाउँदै आएको कृषि वीउविजन तथा टनेल पाइन्छ भनेर बसेको तर वडाले स्थानिय बासिन्दालाई मात्रै दिने भनेकाले बाहिरबाट आएर कृषि खेती गर्ने महिला कृषक मर्कामा परेको उनको गुनासो छ।

महानगरले कोरोना भाइरसको संक्रमणका कारण भएको लामो लकडाउनले उत्पन्न गर्ने संकट आउन नदिन कृषि सम्बन्धी कार्यक्रम अघि बढाएको छ ।

जमिन हुने र नहुनेहरुका लागि दुई प्रकारका छुट्टाछुट्टै कृषि सम्बन्धी कार्यक्रम अघि बढाएको महानगरका आर्थिक समिति संयोजक रविन्द्र महर्जनले बताएका छन् । यो योजना नगरको २९ वटै वडामा सञ्चालन गरि महानगरका पचास प्रतिशत बासिन्दालाई कृषिमा आत्मनिर्भर बनाउने महानगरले विश्वास लिएको छ ।

जमिन नहुने तर, घर भएकालाई कौसीमा तरकारी खेती गर्न बीउ वितरण गरिएको र जमिन हुनेहरुको लागि धान, मकै र प्राङगारिक मल वितरण गरिएको महर्जनले बताए । महानगरपालिकाले नगरभित्र बाँझो रहेका जग्गा जमिन खनजोत गर्न पनि आह्वान गर्ने भएको छ । त्यस्ता जमिन खनजोत गरी उत्पादन गर्न चाहने व्यक्तिलाई महानगरले ट्याक्टर समेत किनिदिने तयारी पनि गरेको छ ।

Logo