मोटर बीमा पोलिसीमा लकडाउन अवधिभर छुट दिन बीमा समितिको निर्देशन

मोटर बीमा पोलिसीमा लकडाउन अवधिभर छुट दिन बीमा समितिको निर्देशन


काठमाडौं ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि मुलुक लकडाउनमा रहेकाले मोटर गाडी ग्यारेजमा थन्किएर बसेका छन् । यसरी ग्यारेजमा गाडी थन्किएर बस्दा विमा पोलिसीमा किस्ता बुझाउनु पर्छ । यसको लागि व्यावसायीहरुले बुझाउन नसकिने भन्दै बीमा समितिमा ज्ञापनपत्र बुझाएका थिए । त्यसै अनुरुप मंगलबार बीमा समितिले मोटर बीमा पोलिसीमा लकडाउन अवधिको बीमा शुल्क छुट दिने निर्णय गरेको छ । समितिले एक निर्देशन जारी गर्दै लकडाउन अवधिभरको बीमा शुल्क आगामी वर्षको बीमा नविकरणमा छुट दिन निर्देशन दिएको हो ।

यो निर्देशनसँगै यातायात व्यवसायीहरु केही भए पनि राहत मिलेकोमा नेपाल यातायात व्यवसायी महासघका महासचिव सरोज सिटौलाले खुसि व्यक्त गर्दै बीमा समितिलाई धन्यवाद दिएका छन् ।

उनका अनुसार बीमा समितिको यो निर्देशनले देशका लाखौं सवारी साधनले राहत पाउने भएका छन् । समितिको यस्तो सुविधा तेस्रो पक्ष, यात्रु तथा कर्मचारीसहित सम्पूर्ण मोटर बीमाका बीमितले पाउनेछन् । निर्देशिका अनुसार मोटरबीमाको छुट सुविधा भने आगामी वर्ष नविकरण गर्दा मात्रै प्राप्त हुनेछ ।

समितिले निर्जिवन बीमा कम्पनीहरुलाई लकडाउन भएको मितिदेखि सरकारले लकडाउन हटाएको समयसम्म ‘ले–अप’ समय कायम गर्न निर्देशन दिंदै त्यस्तो अवधि बराबरको बीमा शुल्कमा छुट दिन निर्देशन जारी गरेको हो । ले अप समय विदेश जाँदा पूर्व सूचना दिएर बीमाको समयावधी बढाउन पाइने छुट सुविधा हो । बीमा समितिको निर्देशन अनुसार लकडाउन सम्बन्धी नेपाल सरकारको निर्णयलाई ले अपका लागि पूर्व सूचना दिए सरह मान्यता दिँदै यस्तो सुविधा दिन निर्देशन जारी गरेको हो ।

समितिले सवारी साधनको कुल बार्षिक बीमा शुल्कको एक तिहाई रकम थन्किएको अवस्थाका जोखिम कट्टा गरी बाँकी दुई तिहाई रकममा समानुपातिक रुपमा छुट दिन निर्देशन जारी गरेको छ। त्यस्तै, सवारी साधन बीमाको जविकरण गर्दा बीमाशुल्क समायोजन गर्न र बीमीतलाई छुट रकमको प्रमाण पत्र समेत प्रदान गर्न आग्रह गरेको छ ।

Logo