काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यावसायीहरुले बैंकको ब्याज तिर्न नसक्दा आत्महत्या गर्नुपर्ने अवस्था आउन लागेको बताएकी छिन् ।
महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले बैंकको ब्याजदरका कारण उद्योगी व्यावसायीहरुले आत्महत्या समेत गर्नुपर्ने अवस्था भएको बताइन् । बैंकिङ क्षेत्रलाई आफ्नो नाफालाई घटाएर भए पनि ब्याजदर ५ प्रतिशतमा झार्नुपर्ने अध्यक्ष राणाको आग्रह थियो । बैंकको ब्याजदर घटाउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग पनि छलफल भइरहेको उनको भनाइ थियो । बैंकले ब्याजदरमा छुट नदिने हो भने उद्योग व्यावसायीहरु सडकमा आउने अवस्था आएको उनले बताइन् ।
त्यस्तै, उनले सरकारले नीति तथा कार्यक्रममा नीजि क्षेत्रलाई वेवास्ता गरिएकोप्रति दुःख प्रकट गरिन् । सरकारले नीजि क्षेत्रलाई राहतको घोषणा नगरेको भन्दै राहत प्याकेज नल्याए उद्योग व्यावसाय नै बन्द गर्नुपर्ने अवस्थामा पुग्ने अध्यक्ष राणाको भनाइ थियो । उनले सरकारले राहत दिँदा रातो, पहेँलो र हरियो गरी तीन तहगत रुपमा वर्गिकरण गरेर दिनुपर्ने बताइन् ।
अध्यक्ष राणाका अनुसार निजी क्षेत्रको राजस्वमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको छ । साथै सरकारले गत साता विभिन्न ४४ प्रकारका उद्योगहरु संचालन गर्ने निर्णय गरेपनि मन्त्रालयहरुको समन्वयको अभावका कारण सञ्चालनमा समस्या भएको उनको भनाइ थियो ।































प्रतिक्रिया