‘कोरोनालाई अवसरका रुपमा लिएर अघि बढ्नु पर्छ’ : डा. धनन्जय रेग्मी (सिइओ, पर्यटनबोर्ड / भिडियोसहित)

‘कोरोनालाई अवसरका रुपमा लिएर अघि बढ्नु पर्छ’ : डा. धनन्जय रेग्मी (सिइओ, पर्यटनबोर्ड / भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको रोकथाम प्रयाससँगै भएको लकडाउनले यतिबेला हरेक क्षेत्र प्रभावित भएका छन् । नेपालमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरु मध्ये पर्यटन क्षेत्र मुख्य हो । यतिबेला नेपालमा विदेशी पर्यटकहरु आउन सक्ने अवस्था छैन । न आन्तरिक पर्यटक नै एक ठाउँबाट अर्को ठाउँमा जान सक्ने अवस्था छ । यस्तो जटिल अवस्थामा पर्यटन क्षेत्रलाई माथि उकास्न केहि समय लाग्ने निश्चित छ ।

आगामी दिनमा यसक्षेत्रलाई माथि उकास्न सरकारले अब दीर्घकालिन सोचका साथ बजेटमा समेट्नु पर्ने नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मीले बताएका छन् । यसमा पर्यटन बोर्डले पनि सकेको काम गरिरहेको उनको भनाइ छ । कोरोनाका कारण पर्यटन क्षेत्रमा के कस्तो क्षति पुगेको छ भन्ने अध्ययन र अनुसन्धान गर्दै बोर्डले ३ किसिमले काम गरिरहेको छ । सबै सरोकारवालाहरुसँग सल्लाह गरेर पर्यटनसँग आबद्ध संघसंस्थामा संलग्न मजदूरहरुको योगदान हेरेर उनीहरुको रोजगारी सुरक्षित हुने गरि सरकारले २० अर्ब बराबरको राहत प्याकेज छुट्याउनु जरुरी रहेको रेग्मीले बताए । यसबाट पर्यटन उद्योगलाई बचाउन सहज हुने र आगामी दिनमा अझ रोजगारी बढ्न पनि प्रेरित हुने उनको भनाइ छ ।

सरकारले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि यसक्षेत्रमा लाग्दै आएको करमा केहि समय छुट दिनु पर्ने समेत उनको माग छ । अहिलेको अवस्थामा तत्कालै पर्यटन उद्योगलाई पहिले जसरी नै अगाडि बढाउन सम्भव नभए पनि यसलाई भविष्यमा पुनः सुचारु गर्नका लागि अहिलेदेखि नै बचाउनु पर्ने बताउँदै सिइओ रेग्मीले पर्यटन क्षेत्रमा आबद्ध मजदूरलाई वैकल्पिक काममा पनि लगाउन सकिने बताएका छन् ।

सरकारले सुरु गरेको नेपाल भ्रमणवर्ष समेत स्थगित गर्नु परिरहेको अहिलेको अवस्थामा कोरोना कहरपछि आन्तरिक पर्यटनलाई बढावा दिन जरुरी रहेको पनि रेग्मीले बताए । कोरोनाबाट सकारात्मक सोच लिएर आगामी दिनमा कसरी अगाडी जाने भन्ने विषयमा सरकारले सरोकारवालाहरुसँग परामर्श गर्दै भावि कार्यक्रम ल्याउनु पर्ने पनि उनले सुझाव दिएका छन् । आगामी दिनमा पुरानो काम गराइलाई परिवर्तन गरि क्वालिटी पर्यटनमा जोड दिनु पर्ने र यस्तैखालका कार्यक्रम ल्याएर कोरोनालाई अवसरका रुपमा लिनु पर्ने अवस्था आएको समेत डा. रेग्मीको भनाइ छ ।

नयाँ रोजगार दिने भनेकै अब पर्यटन क्षेत्र नै भएकाले अब वढ्ने वेरोजगारीलाई पनि पर्यटन क्षेत्रले समेट्न सक्ने तर सरकारले यसलाई महत्वका साथ लिनु पर्ने सिइओ रेग्मीले बताए । आगामी दिनमा पर्यटन बोर्डले पनि अझ महत्वका साथ काम गर्ने उनको भनाइ छ । अहिलेको समस्यालाई सबै मिलेर समाधानमा लाग्नु पर्ने रेग्मीले बताए । उनीसँग केन्द्रबिन्दुले गरेको कुराकानी हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo