काठमाडौं ।
सरकारले उद्योग संचालन गर्ने निर्णयको व्यवसायीहरुहरुले स्वागत गरेका छन् । कोरोना भाइरसका कारण सरकारले चैत ११ गतेदेखि मुलुकभरी लकडाउन गरेको छ । सो समयदेखि उद्योग, व्यवसायहरु सबै ठप्प थिए । उद्योग व्यवसाय लामो समयदेखि बन्द हुँदा आम मानिसहरु भोकै मर्नु पर्ने अवस्था आउने र जनजीवन झनै कष्टकर बन्ने भन्दै व्यवसायीहरुले लकडाउन खुकुलो बनाउँन र उद्योग व्यवसाय खोल्न सरकारसँग माग गरिरहका थिए । व्यवसायीहरुको माग र अर्थतन्त्रलाई चलायमान बनाउने भन्दै सरकारले भोलि (शुक्रबार) देखि विभिन्न ४४ प्रकारका उद्योगहरु खोल्ने निर्णय गरेको हो ।
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले उद्योग खोल्नु सकारात्मक भएको भन्दै उद्योग संचालनका लागि सहज बातावरण निर्माण गर्नुपर्ने बताइन् । ‘कतियप ठाउँमा खोल्यो भन्दा भन्दै पनि रोक्ने अवस्था आएको छ ।’ उनले भनिन् । त्यस्तै, यसअघि व्यवसायीले लकडाउनको समयभरी कर्मचारीलाई ५० प्रतिशत मात्रै तलब दिने भन्ने माग गरेका थिए । त्यसको टुंगो पनि सरकारले लगाएर उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाइदिन अध्यक्ष राणाले आग्रह गरिन् । तर सरकारले भने यसअघि नै कर्मचारीको तलब कटौती गर्न नपाइने व्यवस्था गरेको थियो । उद्योग व्यवसायीले ऋण लिएर भएपनि तलब दिनुपर्ने व्यवस्था गरेको थियो । त्यसका लागि व्यवसायीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारको सो निर्णय कार्यान्वयन गर्न नसक्ने व्यवसायीले बताउँदै आएका छन् ।
त्यसैगरी, उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले राज्यले अर्थतन्त्र चलायमान गर्न लकडाउन खुकुलो गरेकोप्रति खुसी व्यक्त गरे । तर बजार पनि खुल्नु पर्ने उनको माग छ । ‘सरकारले उद्योगसँगै विस्तारै मार्केटहरु पनि खोल्नु पर्छ ।’ अध्यक्ष मोरले भने । उद्योग पनि खोल्ने र बजार पनि खोल्ने गर्दा अर्थतन्त्र चलायमान बनाउन सजिलो हुने उनको भनाइ थियो ।
नेपाल अटो मोबाइल्स एशोसियशन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारको निर्णयलाई स्वागत गरेको बताए । ‘सरकारले समयमै उद्योग व्यवसाय खोल्ने निर्णय गरेकोमा हामीले स्वागत गरेका छौँ ।’ अध्यक्ष दुलालले भने । लामो समयसम्म उद्योग बन्द हुँदा मानिस खानै नपाई मर्ने अवस्था आउन सक्ने हुन्थ्यो । यस्तो अवस्था आउनुभन्दा पहिले नै सरकारले सहि निर्णय गरेकोमा खुसी व्यक्त गरे । दुरी कायम गर्दै सुरक्षाका विधि अपनाएर कर्मचारीलाई काममा लगाइने उनले बताए ।
कोरोनाका कारण लामो समय लकडाउन गर्दा अर्थतन्त्रमा निकै ठुलो प्रभाव परेको छ । अर्थतन्त्रमा थप संकट आउन नदिन विश्वका अन्य मुलुकहरुले पनि लकडाउन खुकुलो गर्दै उद्योग व्यवसायहरु खोलेका छन् । नेपालमा पनि उद्योग व्यवसाय खोल्नुको विकल्प नभएको नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । उद्योगहरु खुल्ने तर उत्पादित सामान बिक्रिका लागि पसलहर नखुल्दा समस्या आउन सक्ने अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘सरकारले अति आवश्यक उद्योगहरु खोलेपछि ती उत्पादन बेच्न पसलहरु पनि खोल्नुपर्छ । उनले भने । पसलहरु खोल्दा कसरी सुरक्षित रहेर खोल्ने भन्ने विषयमा सरकारले सोच्नुपर्ने अध्यक्ष श्रेष्ठको भनाई थियो ।
सरकारले बुधबार खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित विभिन्न ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सरकारले खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु, दूध तथा दुग्ध पदार्थ उत्पादन उद्योग, औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु, खाने पानी, उत्पादन गर्ने उद्योगहरु, इँटा उद्योग, पशुपक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग, खाने तेल तथा घ्यू उद्योग, चिनी उद्योग, चिया प्रशोधन उद्योग, एलपीजी ग्यास उद्योग लगायतका उद्योग खोल्ने निर्णय गरेको थियो ।
त्यसैगरी, सरकारले प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग, कफि उद्योग, पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग, नूडल्स तथा तयारी चाउचाउ उद्योग, मसला उद्योग, अलैंची र अदुवा प्रशोधन उद्योग, कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग, धान चामल र चिउरा उद्योग, दाल उद्योग,पशु औषधि र किटनासक औषधि सम्बन्धी उद्योगहरु संचालन गर्न पाउने पनि सरकारले निर्णय गरेको छ ।
यता खानी तथा खनिजजन्य उद्योग, बालुवा प्रशोधन तथा क्रसर उद्योग, सिमेण्ट उद्योग, आइरन तथा स्टिल उद्योग, पेन्टिङ्गस (रंगरोगन) उद्योग, जीआइ र प्लास्टिक पाइप र फिटिंग्स् उद्योग, बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग, जुुस तथा हल्का पेयपदार्थ उद्योग, प्लाइउड र भेनियर उद्योग, विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफर्मर तथा प्रसारणसँग सम्बन्धीत उद्योगहरु, जस्ता पाता उद्योग पनि संचालनमा आउने भएका छन् ।
हेभी मेशिनरी औजार मर्मतसंभार, खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, फलाम लगायत),स मिल र काष्ठ उद्योग, आल्मुनियम उद्योग, ग्रील उद्योग, फोहोर मैला संकलन तथा प्रशोधन उद्योग, ढुवानी तथा कार्गो सेवा उद्योग, मेसिन पार्टपुर्जा वर्कसप उद्योग, मोटर ग्यारेज वर्कसप उद्योग, छापाखाना तथा प्रेस सम्बन्धी उद्योग, सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग र औद्योगिक क्षेत्रभित्र रहेका सबै खाले उद्योगहरु पनि खोल्ने सरकारको निर्णय छ ।





























प्रतिक्रिया