चार लाख वढी श्रमिक तत्काल फर्कन सक्ने

चार लाख वढी श्रमिक तत्काल फर्कन सक्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
कोभिड–१९ को संकटका कारण रोजगारी गुमाएर खाडीका पाँच मुलुक बहराइन, यूएई, साउदी अरेबिया, कतार र ओमानसँगै मलेसियाका समेत ४ लाख ७ हजार नेपाली कामदार तत्काल स्वदेश फर्किन सक्ने अवस्था छ । सरकारले प्रतिवेदन तयार पार्दै यस्तो विवरण तयार पारेको छ । फर्किन सक्नेमध्ये १ लाख २७ हजार जनालाई तत्काल उद्धार गर्नुपर्ने अवस्था छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयद्वारा तयार प्रतिवेदन अनुसार कोरोनाको संकटसँगै विभिन्न समस्याका कारण फर्काउनु पर्ने अवस्थाका कामदारको संख्या पनि उल्लेख्य छ । उक्त रिपोर्ट परराष्ट्र मन्त्रालय र सम्बन्धित मुलुकका कूटनीतिक नियोगहरुसँगको सम्बन्धमा तयार पारिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बुधबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी दिएका हुन् ।

प्रतिवेदन अनुसार मलेसियामा कूल नेपाली श्रमिक संख्या ३ लाख २५ हजार रहेकोमा भिसाको म्याद सकिएको र आममाफीका कारण तत्काल फर्कने करिब ७ हजार जना छन् भने कोरोनाका कारण रोजगारी गुमाएर फर्कन सक्नेको अनुमानित संख्या ३० हजार छ ।

यस्तै, कतारमा ३ लाख ५१ हजार ८ सय २ नेपाली श्रमिक छन् । जसमा भिसाको म्याद सकिएको र आममाफीका कारण तत्काल फर्कने अनुमानित ७५ हजार जना छन् । कोरोनाका कारण रोजगारी गुमाएर कतारबाट फर्कन सक्ने अनुमानित ७० हजार छन् ।

आकलन प्रतिवेदन अनुसार साउदी अरबमा ३ लाख ५ हजार नेपाली श्रमिक छन् । त्यसमध्ये भिसाको म्याद सकिएको र आममाफीका कारण तत्काल फर्कने अनुमानित संख्या २० हजार छन् । कोरोनाका कारण रोजगारी गुमाएर फर्कन सक्ने अनुमानित १ लाख छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा २ लाख ७५ हजार नेपाली श्रमिक छन् । भिसाको म्याद सकिएको र आममाफीका कारण तत्काल फर्कने अनुमानित संख्या १२ हजार रहेका छन् । कोरोना भाइरसका कारण रोजगारी गुमाएर फर्कन सक्ने अनुमानित ५५ हजार छन् ।

प्रतिवेदन अनुसार कुवेतमा ५० हजार नेपाली श्रमिक छन् । त्यसमध्ये ९ हजार भिसाको म्याद सकिएका र आममाफीका कारण तत्काल फर्कने अनुमान गरिएको छ । कोरोना भाइरसका कारण १५ हजार नेपाली श्रमिकले रोजगारी गुमाएर घर फर्कन सक्ने अनुमान गरिएको छ ।

यस्तै, बहराइनमा ३५ हजार नेपाली श्रमिक छन् । जसमा ३ हजार ५ सय नेपाली श्रमिकहरु भिसाको म्याद सकिएका र आममाफीका कारण तत्काल फर्कने अनुमान गरिएको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएर ७ हजार नेपाली श्रमिक फर्कन सक्ने अनुमान छ । ओमनमा ७ हजार नेपाली श्रमिक छन् । त्यसमध्ये भिसाको म्याद सकिएको र आममाफीका कारण तत्काल फर्कन सक्ने ५ सय जना छन् । ३ हजार नेपाली श्रमिक भने कोरोना भाइरसका कारण रोजगारी गुमाएर फर्कन सक्ने आँकलन गरिएको छ ।कान्तिपुरबाट

Logo