खाने तेलको मूल्य बढ्नुको कारण दिन उद्योगीद्वारा आनाकानी

खाने तेलको मूल्य बढ्नुको कारण दिन उद्योगीद्वारा आनाकानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दिएको निर्देशन अनुसार अझै केही उद्योगीले खाने तेलको मूल्य बढ्नुको कारणसहितको विवरण पेस गर्न आनकानी गरेका छन् ।

विभागले एक साता अघि तेल उद्योगीसँग छलफल गरेर मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको थियो । पछिल्लो एक/डेढ महिनाको अवधिमा खाने तेलमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएपछि विभागले उद्योगीलाई यस्तो निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत मङ्सिरसम्म घ्यू र तेल १३.०१ प्रतिशत महँगो भएको देखिएको छ ।

विभागका अनुसार विभागले नेपालमा सञ्चालित १७ वटा तेल उद्योगलाई तीन दिनभित्र मूल्य बढ्नुको कारणसहितको विवरण बुझाउन निर्देशन दिएकोमा अहिलेसम्म ११ वटा मात्रै बुझाएका छन् । बाँकी छ वटालाई यही शुक्रबारसम्म विचार गरिने विभागले जनाएको छ ।

उद्योगीले तेल उत्पादनका लागि कच्चा पदार्थ विदेशबाट ल्याउनु पर्ने र त्यो बढेर आएकाले तेलको मूल्य बढाउनु परेको बताउँदै आएका छन् । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विभागबाट तेलको विषयमा नियमित अनुगमन पनि भइरहेको र सबै विवरण आएपछि सबै मसिनो गरेर चित्त बुझ्दो नभेटिए कारबाही हुने बताए। उनले विदेशबाट ल्याएर मूल्य राख्दा कतै गलत भएको छ कि भन्ने विषय झट्टै भनिहाल्न नसकिने हुँदा समय लाग्ने सक्ने र अस्वाभाविक बढाएको पाइए कानुन अनुसार अगाडि बढ्ने बताए ।

विभागका अनुसार अहिलेसम्म स्वस्तिक, शिवशक्ति, सुशील वनस्पति घ्यू, अमृत गणपति कुक लगायतका ११ वटा तेल ब्रान्डका उद्योगीले भाउ बढ्नुको विवरण पेस गरेका छन् ।

उद्योगीले पेस गरेका विवरणमा तेलको कच्चा पदार्थ बढेर मात्रै भनेर नपुग्ने भन्दै उनले भने, कच्चा पदार्थमा बढेको परिणाम, तेल उत्पादन लागतमा बढेको परिणाम र तेलको मूल्य मिल्नु पर्छ । महानिर्देशक सुवेदीले विभागले दैनिक चारवटा टोली बनाएर काठमाडौँ उपत्यकामा अनुगमनलाई निरन्तरता दिएकाले बजारमा मनोमानी गर्नेलाई हामी जुनसुकै बेला पनि कडा कारबाही गर्ने दाबी गरे ।गोरखापत्रबाट

Logo