काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रको आपूर्ति व्यवस्थालाई सहज बनाउन सरोकारवाला निकायहरुसँग छलफल गरेको छ । सरकारले कोरोना भाइरस रोकथामका लागि जारी गरेको लकडाउनका कारण आफूर्ति व्यवस्थामा केही असहज भएको भन्दै सहज बनाउन महानगरले सरोकारवालाहरुसँग छलफल गरेको हो ।
महानगर प्रमुख बिद्यासुन्दर शाक्यको अगुवाइमा भएको छलफलमा महानगर प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, सहसचिव राजेश्वर ज्ञवालीलगायत सहभागी भएका थिए । बैठकमा महानगर प्रमुख शाक्यले महानगर क्षेत्रभित्रको आपूर्ति व्यवस्थामा एक रुपता ल्याउनेलगायतका विषयमा छलफल भएको जानकारी दिए । ‘लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एक रुपता कायम गर्दै आर्थिक गतिविधिलाई पनि चलायमान बनाइराख्नुपर्छ भन्ने विषयमा बढी जोड दिएका छौँ’–प्रमुख शाक्यले भने–‘अहिले लकडाउनको अवस्थामा अतिविपन्न, असाहय र मजदुरलाई मात्रै राहतको व्यवस्था गर्ने होइन आफैँ किन्न सक्नेलाई पनि सहज वातावरण निर्माण गर्नुपर्ने अवस्था छ । यो विषयमा पनि हामीले गम्भीर भएर छलफल गरेका छौँ ।’
छलफलमा प्रमुख शाक्यले अहिलेसम्म महानगरबाट मात्रै ६२ हजार ७ सय २२ जनाले राहत पाएको र १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको जानकारी दिएका छन् । उनले भने–‘महानगरबाट मात्रै यति धेरैलाई राहत वितरण गर्ने र खाना खुवाउने काम भएको छ । यति हुँदा पनि खाने कुराको समस्या भएर गाउँ फर्किन बाध्य भएको भन्ने समाचारहरु आइरहेका छन् । खानाकै समस्या भएर गाउँ फर्किनु पर्ने अवस्था आउन दिदैँनौ भनेर हामीले पटक–पटक भन्दै आएका छौँ । कोही बाध्य छ भने हामी अहिले पनि उहाँहरुलाई खाद्यान्नको व्यवस्था गर्न तयार छौँ ।’
त्यस्तै प्रमुख शाक्यले अहिलेसम्म महानगर क्षेत्रभित्रका ८ सय ५६ जनाको र्यापिड टेष्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताए । साथै, उनले अहिलेसम्मको अवस्थामा काठमाडौं सुरक्षित रहेकाले हतार गरेर उपत्यका नछाड्न महानगरवासीलाई आग्रह समेत गरेका छन् । महानगर क्षेत्रभित्रका पसललाई कहिले वडाले खोल भन्ने प्रहरीले बन्द गर्ने वा वडाबाट नखोल्नु भन्ने प्रहरीले खोल्नु भन्ने अवस्था हुँदा थप समस्या हुने भन्दै समन्वय गरेर मात्रै अघि बढ्नु पर्नेमा उनको जोड छ । व्यवसायीहरुले लकडाउनको पूर्णतयाः पालना गर्दै सकारात्क भूमिका खेलेको भन्दै प्रमुख शाक्यले धन्यवाद दिए ।
त्यस्तै प्रहरी नायव महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलले उत्पादन क्षेत्रमा लागेकाहरुलाई सरकारको निर्णयलाई बाधा नपुग्ने गरी सहजिकरण गर्नु पर्ने धारणा राखेका छन् । उनले कोरोना संक्रमणको शंका लागे तत्काल परीक्षण गर्न सुझाव दिँदै भित्र बसेर गर्न सकिने काम र व्यापार–व्यवसायलाई सम्भव भएसम्म निरन्तरता दिनुपर्नेमा जोड दिए ।
छलफलमा उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले उत्पादित वस्तुहरु बजारमा ल्याउन नसक्दा मूल्य वृद्धि हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् । साथै, गाउँ फर्किने जनशक्तिलाई रोक्नुपर्ने उनले बताए ।
त्यस्तैगरी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि श्रमिकहरुलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । खुद्रा व्यापार संघका अध्यक्ष लगायतले पनि लकडाउनलाई केही खुकुलो बनाउँदै आर्थिक गतिविधिलाई विस्तारै चलायमान बनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले नियमित अनुगमनलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिए ।
छलफलमा व्यवसायीहरुले आपूर्ति व्यवस्थालाई केही चलायमान बनाउन लकडाउन अवधिभर बिहान १० बजेसम्म पसल खोल्ने वातावरण बनाउन माग गरिएको थियो । व्यवसायीहरुको मागलाई ध्यानमा राख्दै पसलमा बढी भीडभाड नगरी खाद्यान्न र अत्यावश्यक सामाग्री किनमेल गर्न सहज बनाउने विषयमा महानगरपालिका र प्रशासन पनि सकारात्मक बनेको छ ।































प्रतिक्रिया