काठमाडौँ
चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणका कारण बैंक तथा वित्तीय संस्थाहरुले नयाँ कर्जा लगानी नगरेका कारण अहिले बजारमा तरलताको समस्या देखिएको छैन ।
सरकारले गत चैत्र ११ गतेदेखि मुलुकैभरी लकडाउन गरेको छ । त्यस यता बैंक तथा वित्तीय संस्थाहरुले नयाँ कर्जा लगानी गरेका छैनन् । लकडाउन सुरु हुनुभन्दा पहिले पनि तरलता अभावका कारण बैंकहरुले प्रशस्त लगानी गर्न सकिरहेका थिएनन् । त्यसैमाथि गत तीन महिनादेखि कोरोना संक्रमणका कारण बैंकहरुको कर्जा लगानी सुस्त भएको छ । जसका कारण बैंकमा अहिले प्रशस्त तरलता रहेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । ‘अहिले बैंकिङ प्रणालीमा तरलता प्रशस्त छ ।’ प्रवक्ता भट्टले भने । उनका अनुसार अहिले बैंकिङ प्रणालीमा करिब ४१ अर्ब ४३ करोड तरलता रहेको छ ।
त्यस्तै, अहिले बैंकहरुले एलसीको भुक्तानी खोले पनि नयाँ कर्जा लिन ऋणी बैंकमै पुग्नु पर्ने भएकाले कर्जाको मागमा पनि कमी आएको नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बताए । कर्जा लगानी नहुने तथा बैंकमा निक्षेप पनि बढ्दै जाँदा तरलतामा समस्या नभएको प्रमुख कार्यकारी अधिकृत अधिकारीको भनाइ छ । मुलुकमा लकडाउनका कारण मानिसहरु घरबाट बाहिर निस्केर हिड्न पाएका छैनन् । जसका कारण प्रशस्त मात्रामा खर्च समेत गर्न पाएका छैनन् । बैंकमा निक्षेप बढिरहेको बैंकर्सको भनाइ छ । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुले सिमित शाखाहरु मात्रै खोली बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।
राष्ट्र बैंकका अनुसार चैतमा मात्रै वाणिज्य बैंकहरुले ४९ अर्ब निक्षेप संकलन बढाएका छन् । कर्जा लगानी ४२ अर्बले बढेको छ । चैतको दोस्रो सातामै लकडाउन भएपनि निक्षेप संकलन भने झण्डै आधा खर्बले बढेको देखिएको छ । फागुन मसान्तसम्ममा ३१ खर्ब ४० करोड रुपैयाँ रहेको निक्षेप चैत मसान्तसम्ममा बढेर ३१ खर्ब ९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, कर्जा लगानी २ खर्ब ३ अर्ब रुपैयाँबाट बढेर २८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।





























प्रतिक्रिया