काठमाडौं ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले कोरोना भाइरस महामारीले दक्षिण एसियाली अर्थतन्त्र र नेपालमा पार्ने प्रभावका विषयमा विश्वबैंकसँग भिडियो कन्फ्रेन्सका माध्यमबाट आज छलफल कार्यक्रम आयोजना गरेको छ ।
छलफलमा विश्वबैंकका नेपालका लागि देशीय प्रबन्धक फेरिस हदाद जार्भोससहित एक दर्जनभन्दा बढी आर्थिक पत्रकारहरूको सहभागिता थियो । छलफललाई सम्बोधन गर्दै विश्वबैंकका देशीय प्रबन्धक फेरिसले विश्वव्यापी अर्थतन्त्रमा आगामी केही वर्षसम्म कोरोना महामारीको प्रभाव दुर्भाग्यपूर्ण हुने बताएका छन् । ‘विश्व, दक्षिण एसिया र नेपालमा आउँदा केही वर्षसम्म कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य अनुपातले कमी आउने छ । महामारीभन्दा पहिला दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको थियो, तर कोभिड–१९ का कारणले यस क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहनेछ, यो विगत चालीस वर्षकै सर्वाधिक खराब वृद्धिदर हो । आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एसियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यमस्तरमा रहने अपेक्षा छ । उनले भने
नेपाल दुई ठूला छिमेकीहरूका बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने कारणले नेपाल र यहाँको वृद्धिदरमा समेत त्यसले नकारात्मक प्रभाव पार्ने देशीय प्रबन्धक जार्भोसले बताए । मन्दीले लगानी र वस्तुको मागमा असर पार्ने उनको भनाइ थियो । सामान्यतयाः मन्दीहरू मागद्वारा हाँकिएका हुन्छन् । तर विद्यमान मन्दी भने कोरोना भाइरसका कारणले गर्दा आपूर्तिद्वारा हाँकिएको उनको भनाइ थियो । यो मन्दीलाई अलग ढंगले बुझ्नाले अर्थतन्त्र र वद्धिलाई फरक ढंगले पुनर्जिवित गर्नका लागि अर्थव्यवस्थामा नयाँ र विशिष्ट साधनहरू प्रयोग गर्न सहयोग पुग्ने जार्भोसले बताए ।
विश्वबैंकको प्रक्षेपण अनुसार चालू आर्थिक वर्षमा नेपालको जीडीपीको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा रहने छ । यो नेपालका लागि विश्वका अन्य भागहरू जस्तै ठूलो प्रहार हो । विप्रेषणमा हुने प्रहारले सीधै नेपालको विदेशी विनिमयमा प्रभाव पार्नेछ । नेपालको रोजगारी तथा आप्रवासन, व्यापार तथा पर्यटन क्षेत्र प्रत्यक्ष प्रभावित हुनेछन् । आपूर्ति प्रणालीमा पारेको झट्काका कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने अपेक्षा गरिएको छ भने वित्तीय घाटा र चालु घाटा दुवै विस्तारित हुने अपेक्षा गरिएको छ ।
विश्वबैंकले नेपालमा महामारीको सामना गर्न र अर्थव्यवस्थालाई पुनर्बहाली गर्नका लागि सरकारसँग मिलेर काम गरिरहको छ । विश्वबैंकले आगामी वर्ष प्राथमिकताका आधारमा निकै काम गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने उनले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमहरू र अन्य यस्तै खालका कार्यक्रमहरूमा ध्यान केन्द्रीत गरिनु पर्ने उनको भनाइ थियो । विश्वबैंकले आफ्नो कूल लगानीको १८ प्रतिशत कोभिड–१९ को प्रतिक्रियात्मक क्षेत्रमा केन्द्रीत गरेको उनले बताए ।





























प्रतिक्रिया