कर्मचारीलाई ५० प्रतिशत मात्रै तलब दिने भन्दै व्यवसायीद्वारा सरकारलाई प्रतिवेदन

कर्मचारीलाई ५० प्रतिशत मात्रै तलब दिने भन्दै व्यवसायीद्वारा सरकारलाई प्रतिवेदन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरस संक्रमणका कारण उद्योग व्यवसायमा ठूलो क्षति भएको भन्दै व्यवसायीहरुले आफ्ना कामदारलाई ५० प्रतिशत मात्रै तलब दिने गरी सरकारलाई प्रतिवेदन बुझाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा नेपाली उद्योग व्यवसाय क्षेत्रका सबै छाता संगठनहरुले सरकारलाई यस्तो प्रतिवेदन बुझाएका हुन् । उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर, नेपाल च्याम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल, नेपाल निर्माण व्यवसायी महासंघ लगायतका छाता संगठनका पदाधिकारीहरुले मंगलबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलाई प्रतिवेदन बुझाएका हुन् ।

कोरोना संक्रमणका कारण नीजि कम्पनीहरुमा कर्मचारीको तलब ५० प्रतिशत घटाइने तयारी व्यवसायीहरुले गरेका छन् । व्यवसायीहरुले सरकारलाई पेश गरेको सो प्रतिवेदनमा उद्योग व्यवसायको प्रकृति र अवस्था हेरेर उद्योग, प्रतिष्ठान र वस्तुगत संघहरुले पनि आआफ्नो उद्योग प्रतिष्ठान र क्षेत्रका लागि सो क्षेत्रसँग सम्बन्धित श्रमिक संगठन वा श्रमिकहरुसँग यस अवधिको पारिश्रमिक भुक्तानी गर्ने विषयमा छलफल र सम्झौता गर्न सक्ने उल्लेख छ । लकडाउनको समय थपिँदै जाँदा स्थितिको मुल्याङ्कन गरी पारिश्रमिक भुक्तानी स्थगित गर्ने सम्बन्धमा थप छलफल गर्ने र प्रतिष्ठान स्तरमा प्रत्येक २/२ वर्षमा हुने सामुहिक सौदाबाजी सम्झौतालाई एक वर्षका लागि स्थगित गर्ने तथा आगामी चैत मसान्तसम्म प्रतिष्ठान स्तरमा कुनै पनि सीबीए नगर्ने विषय सो प्रतिवेदनमा उल्लेख छ ।
कोरोना भाइरसका कारण यतिबेला विश्वको अर्थतन्त्र नै संकटमा परेको छ । जसको असर नेपाली अर्थतन्त्रमा पनि पारेको छ । कोरोनाका कारण नेपालको उद्योग, व्यवसाय, पर्यटन, रेमिट्यान्स, विदेशी लगानी लगायतका क्षेत्र निकै प्रभावित भएका छन् । कोरोनाका कारण पर्यटन क्षेत्रमा १ खर्ब ६० अर्ब रुपैयाँ बराबरको क्षति भएको आँकलन गरिएको छ भने रेमिट्यान्स १ खर्बले घट्ने अनुमान गरिएको छ ।

Logo