काठमाडौँ ।
कोरोना भाइरस संक्रमणका कारण यतिबेला सरकारले मुलकैभरी ३ साता लामो लकडाउन गरेको छ । लकडाउनले कोरोनाको संक्रमण नियन्त्रणमा सहयोग गरेको भएपनि सर्वसाधारणको जनजीवन भने निकै कष्टकर बन्दै गएको छ ।
लकडाउनका कारण खाद्यान्न, तरकारी, पानी तथा औषधी पसल बिहान र बेलुका मात्रै खुल्छन् । लामो समय घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण किनमेलका लागि सोही समयमा बाहिर निस्कन्छन् । तर प्रहरीले भने लकडाउनलाई कडाई गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती गरिरहेको छ ।
शनिबार साँझ रुपन्देहीका ज्ञानहरी ज्ञवाली टाउको दुखेकाले औषधी किन्न सोह्रखुट्टे चोक मेडिकल खोज्दै पुगे । तर प्रहरीले औषधी पसल जानै दिएन । प्रहरीले औषधी किन्ने डाक्टरको सिफारिस खै भन्दै सोध्यो । ज्ञवाली भन्छन्, ‘टाउको दुखेर औषधी किन्न जाँदा डाक्टरको सिफारिस कहाँबाट ल्याउने ?’ त्यस्तै, धादिङका राम शर्मा तरकारी किन्न हिँडेका रहेछन् । उनलाई पनि प्रहरीले धम्क्यायो । यो बाहिर घुम्न निस्कने समय हो ? भन्दै दुर्व्यवहार गरेको ती व्यक्तिले बताए । उनले भने, ‘तरकारी किन्न जान लागेको भन्दा पनि प्रहरीले पटक्कै रेस्पोन्स गरेन ।’
एकातिर सर्वसाधारण घरमै थुनिनु पर्दा मानसिक समस्याको शिकार हुँदै गएका छन् भने अर्कातिर दैनिक उपभोग्य सामानदेखि औषधी लिन जाँदा समेत प्रहरीको दुर्व्यवहार सहनु परेपछि सर्वसाधारणको जनजीवन निकै कष्टकर भएको छ । त्यति मात्रै होइन, लकडाउनका कारण बजारमा तरकारी कम मात्रै पाइन्छ । त्यसैमाथि कालोबजारीले गर्दा नागरिकले चर्काे मूल्य तिर्न बाध्य भएका छन् ।
लामो समय लकडाउन भएपछि सर्वसाधारणसँग भएको सिमित पैसा पनि सकिँदै गएको छ । जसले गर्दा उनीहरुलाई दैनिक उपभोग्य बस्तुहरु किन्न पनि हम्मे हम्मे परेको छ । काभ्रेका गोपी बर्देवासँग अहिले न पैसा छ, न त कोठामा खानेकुरा नै । राहतका लागि नाम टिपेर गएका थिए । तर उनीहरु राहत दिनै आएनन् । ‘अब कसरी बाँच्नु काठमाडौँमा ?’ बर्देवाले भने । लामो समय लकडाउन हुँदा सरकारको राहतले पनि सर्वसाधारणलाई राहत दिन सकेको छैन । जसका कारण सर्वसाधारणको जीवन निकै कष्टकर बन्दै गइरहेको छ ।































प्रतिक्रिया