कोरोनाको संकटबारे अर्थमन्त्रीद्वारा अन्तर्राष्ट्रिय निकायहरुसँग छलफल

कोरोनाको संकटबारे अर्थमन्त्रीद्वारा अन्तर्राष्ट्रिय निकायहरुसँग छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

अर्थ तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोरोना संकमणको संकटबाट पार पाउन विभिन्न विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । अर्थमन्त्री खतिवडाले परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणहरु, नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र मुलुकमा आएको संकटको समाधान गर्न सकिने बताए ।

उनले नियमित रुपमा उपलव्ध भइरहेका अतिरिक्त थप स्रोत साधन, विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने, वैदेशिक ऋणको सावाँ, व्याज भुक्तानीको समय केही वर्ष पर सार्नुपर्ने र द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउनु पर्ने लगायतका विषयमा जोड दिएका छन् ।

यी उपायहरुबाट सीमित स्रोत भएका मुलुकहरुले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्न सक्ने अर्थमन्त्री खतिवडाको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, अन्तर्राष्ट्रिय वित्त निगम, एशियाली विकास बैंक, एशियाली पूर्वाधार विकास बैंक र बहुपक्षीय विकास संस्था लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच भएको छलफलमा यस्तो बताएका हुन् । अर्थमन्त्री खतिवडाले हाल विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्र, स्वास्थ्य क्षेत्र र जनजीवनमा पारेको एवं पार्न सक्ने प्रभाव, यसको रोकथाम तथा नियन्त्रणमा नेपालले हालसम्म चालेका संस्थागत र कार्यक्रम तथा आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरु बारे शुक्रबार भएको भिडियो कन्फरेन्समार्फत यस्तो बताएका थिए ।

अर्थमन्त्री खतिवडाले पहिलेको कुनै पनि संकट भन्दा अहिलेको संकटको दायरा फराकिलो र असर पनि उच्च रहेको र यसबाट उम्कन अभूतपूर्व सामाजिक र आर्थिक उपायहरु अपनाउनु पर्ने बताए । उनले यस्तो संकटबाट पार पाउन विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव भएपनि देश भित्रको संकट व्यवस्थापनमा राष्ट्रिय प्रयास सर्वोपरी रहने बताए ।

भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्न सक्ने सहयोग बारे आ–आफ्नो धारणा राखेका थिए ।

सो भिडियो छलफलमा विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टविग सेफर, अन्तर्राष्ट्रिय मुद्राकोषका डाईरेक्टर च्याञ्योङ्ग रि, अन्तर्राष्ट्रिय वित्त निगमका भाईस प्रेसिडेन्ट नेना स्टोजोभिक, एशियाली विकास बैंकका भाईस प्रेसिडेन्ट सिजिन चेन, एशियाली पूर्वाधार विकास बैंकका भाईस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि.जे.पान्डिन लगायत सहभागि थिए ।

त्यसैगरी, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपाल स्थित विश्व बैंकका कन्ट्री म्यानेजर, नेपालस्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टर, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव, राजस्व सचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवको समेत उपस्थिति रहेको थियो ।

Logo