सरकारको कोरोना राहत कोषमा ५ करोड ४१ लाख संकलन

सरकारको कोरोना राहत कोषमा ५ करोड ४१ लाख संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले कोरोना संक्रमण विरुद्ध लड्नका लागि केन्द्रीय राहत कोषको स्थापना गरेसँगै राहत पनि बढ्न थालेको छ ।

पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहेका बेला त्यसबाट बच्च सरकारले ५० करोड रुपैयाँ बराबरको राहत कोष निर्माण गरेको छ । सो कोषमा राहत आउने क्रम बढेको छ । यस कोषमा नेपाल बैंकले राहत स्वरुप १ करोड रुपैयाँ जम्मा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर अधिकारीले संकटको घडीमा राहतका लागि सो रकम उपलब्ध गराएको बताए ।

त्यसैगरी उद्योगपति वसन्त चौधरीले पनि कोरोनाको संक्रमणसँग लड्न राहत कोषलाई रकम उपलब्ध गराएका छन् । उद्योगपति चौधरीले कोरोना भाइरसको संक्रमणबाट सरकारले बनाएको सो राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । चौधरीले नर्भिक र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट ५० लाख नगद र अत्यावश्यक मेडिकल सम्बन्धी सामग्री उपलब्ध गराउन ५० लाख रुपैयाँ उपलब्ध गराउने भएका हुन् । त्यस्तै, नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैँया, नेपाली कांग्रेसले ५० लाख रुपैयाँ तथा विद्युतीय समाचार पोर्टल मेरो लगानीले १ लाख रुपैयाँ रकम सो कोषमा जम्मा गरेका छन् । ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख सहयोग गर्ने जनाएको छ ।

हालसम्म सो राहत कोषमा नेपाल बैंकको १ करोड रुपैयाँ, वसन्त चौधरीको १ करोड, कृषि विकास बैंकको १ करोड २५ लाख, धितोपत्र बोर्डको ५० लाख र मेरो लगानीको १ लाख तथा कांग्रेसको ५० लाख रुपैयाँ गरी ५ करोड ४१ लाख रुपैयाँ संकलन भएको छ । अरु पनि सहयोग रकम आउने क्रम जारी छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले सरकारले स्थापना गरेको कोरोना राहत कोषमा सबै सांसदको एक महिनाको तलब जम्मा गर्न प्रस्ताव गरेका छन् । आइतबार साँझ मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कोषको स्थापना गरेसँगै सांसद थापाले यस्तो प्रस्ताव गरेका हुन् । कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्रीले एक महिनाको तलब जम्मा गर्ने निर्णय गरिएका बेला सांसद थापाले सांसदहरुले पनि सो राहत कोषमा एक महिनाको तलब जम्मा गर्न आह्वान गरेका हुन् ।

यता राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब , उपराष्ट्रपति नन्दबहादुर पुनले एक महिनाको तलब सहयोग गर्ने बताइसकेका छन् भने वागमति प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पनि एकमहिनाको तलब सहयोग गर्ने बताएका छन् ।

Skip This
Skip This
Logo