गभर्नरको ‘लाइन’ मिलाउन राष्ट्रिय वाणिज्य बैंकका सिइओले फाले ‘कर्जा असुली’को कार्ड

गभर्नरको ‘लाइन’ मिलाउन राष्ट्रिय वाणिज्य बैंकका सिइओले फाले ‘कर्जा असुली’को कार्ड


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक डुबेको ऋण उठाउन आक्रामक बनेको छ । पटक पटक समय दिँदा पनि ऋण नउठेपछि बैंकले आक्रामक रुपमा कर्जा उठाउन थालेको हो ।

लामो समयसम्म पनि ऋणीहरुले ऋण नतिरेपछि बैंकले सम्पत्ति लिलामी गरेरै भएपनि ऋण उठाउन थालेको हो । बैंकले दिप्ति शोपिङ सेन्टर, सिद्धार्थ निर्माण सेवा, अनमोल सु एण्ड सेन्डल, फेसन कलेक्सनको सम्पत्ति लिलाम गर्न लागेको हो । त्यसैगरी सन्ध्या ट्रेडर्स एण्ड अर्डर सप्लायर्स, करुणा स्टोर, रिडल ट्रेडर्स, मञ्जु वस्त्रालय, टाइगर स्टोर, काठमाडौं बिजिनेस ट्रेडर्स, नेशनल बिबि सेन्टरको लगायतको सम्पत्ति पनि लिलामी गर्ने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले लामो समयदेखि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाललाई संरक्षण गर्दै आएको थियो । पूर्वअध्यक्ष ढकाल खराब अवस्थामा पुगेको वर्षौं भयो । तैपनि शक्तिका आडमा व्यवसायी ढकालले बैंकलाई ऋण तिरेका थिएनन् । बैंकले पनि उनलाई संरक्षण गर्दै आएको थियो । तर यसपाली भने व्यवसायी ढकालको सम्पत्ति पनि लिलामी हुने भएको छ ।

लामो समय सम्पत्ति लिलामी नगरेको बैंकले एक्कासी ऋण उठाउन आक्रमक हुनलाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरसँग जोडिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले गभर्नर बन्न लाइन मिलाइरहेको चर्चा छ । नयाँ गभर्नरका लागि बैंकका सिइओ श्रेष्ठ पनि आकांक्षी छन् । उनलाई प्रधानमन्त्री निकट मानिन्छ । पूर्व अर्थ सचिव डा.राजन खनालले पनि अवकास पाउनु केही समय अघि सरकारको ऋण उठाउन आक्रमक बनेका थिए । उनलाई पनि गभर्नरका लागि लाइन मिलाएको बताइन्छ ।

व्यवसायी ढकालले लामो समयदेखि मोमेन्टो एपेरल्सका लागि लिइएको ऋण तिरेका छैनन् । ढकालले विभिन्न बहाना बनाउँदै बैंकलाई ऋण नतिर्ने गरेका थिए ।

त्यस्तै, बैंकले भर्खरै खराब अवस्थामा पुगेको फूलबारी रिसोर्टको ऋणलाई पनि पुनर्संरचना गरेर सल्टाएको जनाएको छ । मेरियट होटलको चेन आउने निश्चित भएपछि बैंकले यो ऋण पुनर्संरचना गरेको जनाएको छ । बैंकले केही दिन अघि मंगतुराम अग्रवालको ८६ करोड रुपैँयाँ बराबरको सम्पति लिलामीमा राखिसकेको छ । बैंकले आज मंगलबार पनि २१ करोड ७३ लाख ६९ हजार बराबरको सम्पत्ति लिलाम गर्दैछ ।

Logo