काभ्रेको नमोबुद्धमा नगरपालिकाले भत्काएका इँटाभट्टा व्यवसायीद्वारा पुनःनिर्माण

काभ्रेको नमोबुद्धमा नगरपालिकाले भत्काएका इँटाभट्टा व्यवसायीद्वारा पुनःनिर्माण

केन्द्रबिन्दु
0
Shares

काभ्रे,
जिल्लाको नमोबुद्ध नगरपालिकाले मापदण्ड विपरीत सञ्चालन गरी नगर प्रदूषण गराएको भन्दै भत्काएका इँटाभट्टाका चिम्नी व्यवसायीले पुनःनिर्माण गरेका छन् । नगरपालिकाले गत भदौ ८ गते नगरको २ र ३ नं वडाका आठ इँटा उद्योगको भट्टाचिम्नी क्रेन प्रयोग गरी भत्काएको थियो ।

नमोबुद्ध नपा–३ स्थित भैरवकुण्ड इँटा उद्योगले हाल एक भट्टाचिम्नी निर्माण गरेको छ । भक्तपुरका राम सुवाल लगायत सात जनाको समूहद्वारा सञ्चालित उक्त उद्योगले चैत पहिलो साताबाट इँटा उत्पादन प्रक्रिया थाल्ने जनाएको छ । नगरपालिकाले इँटा उद्योगको भट्टाचिम्नी भत्काएकै दिन इँटा उद्योगीले नपाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

उद्योगीको मुद्दामा गत भदौ १० गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले ‘छलफलबाट टुङ्गो नलागेसम्म नेपाल सरकार (मन्त्रिस्तर) बाट मिति ०७५ साल जेठ १४ मा भएको निर्णय एवं सो निर्णयको आधारमा विपक्षी नमोबुद्ध नगरपालिकाको कार्यालयसमेतबाट भएका अन्य निर्णय हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्नु तथा निवेदकको इँटा उद्योगमा कुनै हस्तक्षेप नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

नगरप्रमुख टिपी शर्माले व्यवसायीले नपाको स्वीकृतिबिना भट्टाचिम्नी निर्माण गरेको बताए। उनले भने, “एउटा शौचालय निर्माण गर्न त अनुमति लिनुपर्ने नियम छँदाछँदै नियमविपरीत भट्टाचिम्नी बनाइएको हो ।” उनले सर्वोच्च अदालतले दुवै पक्षलाई ‘यथास्थितिमा रहनु’ भन्ने आदेश भएको जिकिर गरे ।

भैरवकुण्ड इँटा उद्योगका सञ्चालक सुवालले कम्पनीमा दर्ता भएका कारण भट्टाचिम्नी बनाउन नपाबाट स्वीकृति लिनु नपर्ने बताए । “हामीले नियमानुसार कर तिर्दे आएका छौँ, नपाको विनियमावलीमा भट्टाचिम्नी बनाउन स्वीकृति लिनुपर्ने उल्लेख भए लिन्छौँ”, उनले भने । हाल निर्माण गरिएको भट्टाचिम्नी ‘सावर–जिकज्याक सिष्टम’ भएकाले प्रदूषणरहित सेतो धुवाँ निस्कने उनले बताए । इँटा उद्योग व्यवसायी सङ्घका जिल्ला अध्यक्ष जीतेन्द्र खयामलीले सर्वोच्च अदालतले नगरपालिकालाई इँटा उद्योगलाई कुनै पनि हस्तक्षेप नगर्नु भन्ने आदेश भएका कारण उद्योगीले भट्टाचिम्नी बनाउन कुनै बाधा नहुने बताए ।

गत साल पुस २७ गते जिल्ला समन्वय समितिका पदाधिकारी, नपा पदाधिकारी र इँटा उद्योगीबीच ०७६ असार मसान्तभित्र नमोबुद्ध नपा क्षेत्रमा सञ्चालित आठ इँटा उद्योग हटाउन आठबुँदे सहमति भएको थियो । सहमति कार्यान्वयन नभएपछि नगर कार्यालयले गत भदौ ८ गते वडा नम्बर २ र ३ मा सञ्चालन हुँदै आएका इँटा उद्योगको भट्टाचिम्नी भत्काएको नगरप्रमुख शर्माले बताए ।

सहमतिमा उल्लेखित बमोजिम नपाले व्यवसायीसँग भट्टाचिम्नी भत्काउँदाको लागत खर्च ‘सम्झौता बमोजिम क्षतिपूर्ति भराई पाऊ’ भनी अदालतमार्फत माग गर्दै आएको छ । सम्झौतापत्रमा करारबमोजिम र उल्लेखित नभएका विषय प्रचलित मुलुकी देवानी (संहिता) ऐन ०७४ र प्रचलित नेपाल कानून बमोजिम हुने उल्लेख गरिएको थियो । जिल्लामा रहेका २० मध्ये नमोबुद्धमा आठ वटा इँटा उद्योग सञ्चालन हुँदै आएका थिए ।रासस

Skip This
Skip This
Logo