कसले मार्ला गभर्नरको बाजी ? झण्डै एक दर्जन आकांक्षीको दौडधुप

कसले मार्ला गभर्नरको बाजी ? झण्डै एक दर्जन आकांक्षीको दौडधुप

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ,

नेपाल राष्ट्र बैंकका १७ औँ गभर्नर नियुक्तिले यतिबेला आर्थिक क्षेत्र तरंगित बनेको छ ।

नयाँ गभर्नर कसलाई बनाउने भन्ने विषयमा राजनीतिक दिर्घामा पनि चर्चा परिचर्चा चर्कै रुपमा चल्न थालेको छ भने गभर्नरका आकांक्षीहरु शक्तिकेन्द्र धाउन थालेका छन् । खास गरी गभर्नरको नियुक्ति नितान्त राजनीतिक नियुक्ति हो । र यो पद ग्लामर भएकाले पनि गभर्नर पदका लागि निकै ठुलो दौडधुप हुने गर्छ । राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालको पाँच वर्षीय कार्यकाल आगामी चैत्र ५ गते सकिँदैछ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ अनुसार गभर्नरको पद रिक्त हुनु एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान छ । तर सरकारले अझैसम्म पनि गभर्नर छनोट समिति बनाएको छैन ।

गभर्नर नेपाल विदा बस्नु केही समय मात्रै बाँकी हुँदा गभर्नरका लागि तिब्र रुपमा दौडधुप सुरु भएको हो ।

को को छन् आकांक्षी ?

गभर्नर नियुक्त गर्दा राष्ट्र बैंकका दुई जना डेपुटी गभर्नर मध्येबाट एक जना डेपुटी गभर्नर सिफासिस गर्नुपर्ने व्यवस्था छ । जसमा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी बलियो आकांक्षीका रुपमा देखिएका छन् । उनी भावी गभर्नरका लागि निकै दौडधुपमा छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छ । त्यसैगरी, राष्ट्र बैंककै अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ पनि भावी गभर्नरका दावेदार हुन् । उनी केही समय अघि राष्ट्र बैंकलाई क्षति पुग्ने काम गरेको, ग्राण्ड बैंक काण्डमा घोटाला गरेको लगायतका दोष देखाउदै वर्खास्त गरेको सरकारले श्रेष्ठलाई पुनः सफाई दिएको थियो । सरकारले सफाइ दिएसँगै उनी पनि गभर्नरका दावेदार बनेका हुन् । डेपुटी गभर्नर श्रेष्ठ प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य निकट मानिन्छन् । उनलाई शाक्यकै सिफारिसमा निर्दाेष सावित गरेको बताइन्छ ।

त्यसैगरी, राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर तथा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी पनि गभर्नरका बलिया दावेदार हुन् । अर्थमन्त्री डा.युवराज खतिवडा गभर्नर हुँदा अधिकारीले सकारात्मक भूमिका खेलेका थिए । त्यसैले पनि अर्थमन्त्रीका चाखिला र मन पर्ने पात्रका रुपमा अधिकारी रहेका छन् । अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य फागुन २० मा सकिँदैछ । खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाए भने महाप्रसाद अधिकारी गभर्नर बन्ने संभावना बलियो छ । स्रोतका अनुसार अधिकारी गभर्नरका दावेदार भएपनि बढी दौडधुप गरेका छैनन् । उनी गभर्नर हुन योग्य छन् ।

त्यसैगरी, राष्ट्र बैंककै अर्का पूर्व कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत भइसकेका डा. मिनबहादुर श्रेष्ठ पनि गभर्नरका बलिया दाबेदार हुन् । राजनीतिक सहमति भएमा उनी गभर्नर बन्न सक्छन् । उनी प्रचण्ड निकट मानिन्छन् । प्रचण्ड निकट अग्नि सापकोटालाई सभामुख बनाएपछि श्रेष्ठ गभर्नर बन्ने संभावना भने कम छ ।

त्यस्तै, पछिल्लो समय राष्ट्र बैंकका संचालक सुवोध कर्ण पनि गभर्नरका लागि दौडधुप गर्न थालेको चर्चा छ । कर्ण पनि गभर्नर बन्न शक्तिकेन्द्र धाउन थालेपछि बजारमा उनको चर्चा चुलिएको हो । गभर्नरका लागि कर्ण पनि बलिया आकांक्षी मानिन्छन् ।

त्यस्तै, गभर्नरका अर्का आकांक्षी पूर्व अर्थसचिव राजन खनाल पनि हुन् । खनाल पनि अर्थमन्त्रीका मनपर्ने व्यक्तिका रुपमा मानिन्छन् । उनी पछिल्लो समय गभर्नर बन्न सजिलो होस् भनेर सरकारको पैसा उठाउन कम्मर कसेर लागेका थिए । तर उनले आफु गभर्नर बन्ने इच्छा नभएको बताउँदै आएका छन् । उनी गभर्नरका लागि आकांक्षी भएपनि बैंकिङ क्षेत्रका विषयमा यथेष्ठ जानकारी नभएको बताइन्छ । जसले गर्दा उनीसँग काम गर्न कठिनाई हुने बैंकर्स बताउँछन् । ‘राजनजी बैंकिङ कुरा त्यति बुझ्नुहुन्न, उहाँसँग काम गर्न अलि गाह्रो हुन्छ ।’ एक बैंकरले भने ।

त्यस्तै, पूर्वसचिव तथा प्रधानमन्त्रीका आर्थिक सल्लाकार लालशंकर घिमिरे तथा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठलाई पनि गभर्नरको आकांक्षीको रुपमा हेरिएको छ । त्यस्तै, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. पुष्प कँडेलको नाम पनि आकांक्षीका रुपमा बजारमा सुनिन थालेको छ ।

त्यस्तै, यसअघि नेपाल बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक बासुदेव अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुंगाना पनि आकाक्षी रहेको चर्चा थियो । तर उनीहरु दुबैलाई गभर्नर नबनाउने भएपछि सरकारले अधिकारीलाई नेपाल बैंकमा अध्यक्ष र ढुंगानालाई बोर्डको अध्यक्ष बनाएको थियो ।

को छ शक्तिशाली ?

गभर्नर नियुक्तिको संयोजक अर्थमन्त्री भएपनि अन्तिम निर्णय भने प्रधानमन्त्रीको नै हुन्छ । यस हिसावले प्रधानमन्त्री ओली निकटमध्येबाट गभर्नर नियुक्ति हुन सक्छ । डेपुटी गभर्नर शिवाकोटी प्रधामन्त्रीका जिल्लाबासी हुन् । उनी प्रधानमन्त्रीका नजिक मान्छिन् । शिवाकोटीले गभर्नरकै लागि प्रधानमन्त्री रिजाउन आफ्नो अर्थतन्त्र सम्बन्धी लेखिएको पुस्तकको विमोचन गराएका थिए भने दौडधुप पनि गरिरहेका छन् । यदि प्रधानमन्त्री र अर्थमन्त्री दुवै सहमत भए भने महाप्रसाद अधिकारीलाई गभर्नर बनाइने संभावना बढी छ । त्यसका साथै छनौट समितिले अन्तिम ३ जनामा राजन खनालको नाम सिफारिस ग¥यो भने खनालले गभर्नरको बाजी मार्नेछन् ।

राष्ट्र बैंक एक स्वायत्त संस्था हो । र सरकारको आर्थिक सल्लाकार पनि । राष्ट्र बैंकले अर्थतन्त्रका विभिन्न विषयमा सरकारले राय सल्लाह दिने गर्छ । त्यसका साथै रुपैयाँ पैसामा आफ्नो हस्ताक्षर पनि हुने भएपछि यस्तो संस्थाको प्रमुख हुन् जो कोही पनि लालायित हुनु स्वभाविक नै हो ।

Logo