बैंकलाई ब्रोकर लाइसेन्स : आगामी साता टुंगो लाग्ने

बैंकलाई ब्रोकर लाइसेन्स : आगामी साता टुंगो लाग्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

लामो समयदेखि वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर ) को लाइसेन्स दिने विषय अब ढुंगो लाग्ने भएको छ ।

बैंकका सहायक कम्पनीहरुलाई ब्रोकरको लाइसेन्स दिने विषयमा संघीय संसद्को अर्थसमितिले चासो राखेपछि त्यसको अध्ययनका लागि सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । सो उपसमितिले अध्ययन सक्न लागेकाले आगामी साता टुंगो लाग्ने समितिका सभापति कृष्ण दाहालले बताए । ‘हप्ता दश दिनमा उपसमितिले प्रतिवेदन बुझाएपछि दिने नदिने भन्ने टुंगो लाग्छ ।’ सभापति दाहालले भने । गत भदौतिर बनेको झाँक्री नेतृत्वको उपसमितिले प्रतिवेदन बुझाउन ढिलाई गरेकाले बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय अन्योल भएको थियो । सो उपसमितिले गत मंसिर २ गते समितिलाई अध्ययन प्रतिवेदन बुझाउनुपर्ने थियो ।

रामकुमारी झाँक्री संयोजक रहेको सो उपसमितिमा प्रमिला राई, मेटमणि चौधरी, रामबाबुकुमार यादव र हेमकुमार राई सदस्य रहेका छन् । पुँजी बजारमा देखिएका समस्याबारे छलफल गर्न समितिले सरोकारवालालाई छलफलमा डाकेर उपसमिति बनाएको थियो ।

उपसमितिले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिँदा भित्री कारोबार कसरी नियन्त्रण गर्न सकिन्छ, भन्ने विषयमा केन्द्रित रहेर अध्ययन गरेको छ । त्यस्तै, बैंकलाई ब्रोकर लाइसेन्स दिँदा र नदिँदाका राम्रा र नराम्रा पक्षबारे पनि अध्ययन गरिएको समितिले जनाएको छ ।

अहिले शेयर बजारमा ५० वटा ब्रोकर कम्पनीहरु संचालनमा रहेका छन् । यी ब्रोकर कम्पनीबीच कारोबारमा चर्काे प्रतिस्पर्धा चलिरहेको छ । त्यसैमाथि बैंकलाई ब्रोकरको लाइसेन्स दिँदा समस्या पर्ने ब्रोकर कम्पनी बताउँछन् । ‘बजारमा धेरै ब्रोकर कम्पनी हुँदाहुँदँै अरु थपिँदा समस्या पर्छ ।’ अनलाईन सेक्युरिजका संचालक अनन्त पौडेलले भने । विधि र प्रक्रिया पूरा गरेका बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सकिने अर्थ समितिले जनाएको छ ।

१९ बैंकलाई ब्रोकर लाईसेन्स

राष्ट्र बैंकले बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर सञ्चालन गर्न पाउने व्यवस्था गरेपछि झण्डै दुई दर्जन बैंकले ब्रोकरको काम गर्न इच्छा देखाएका छन् । १० वटा वाणिज्य बैंकहरुलाई ब्रोकरको काम गर्न बाटो खुलेको छ । त्यस्ता बैंकहरुमा नेपाल इन्भेष्टमेण्ट , एनआईसी एशिया, कुमारी , मेगा , सेञ्चुरी सिद्धार्थ, ग्लोबल आइएमई, बैंक अफ काठमाडौं, जनता र सानीमा बैंक लगायत छन् । त्यस्तै, ब्रोकर लाइसेन्सका लागि ९ वटा वाणिज्य बैंकहरुको आवेदन राष्ट्र बैंकमा परेको छ । सिटिजन्स इन्टरनेशनल, हिमालयन बैंक, लक्ष्मी, नेपाल, माछापुच्छ्रे, सनराइज , सिभिल, कृषि विकास, बङ्गलादेश, बैंक र नबिल बैंक लगायतका वाणिज्य बैंकहरुले आवेदन दिएका छन् ।

यतिबेला अधिकांश स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् । यदि १९ वाणिज्य बैंकहरुले शेयर कारोबारका लागि ब्रोकरको लाइसेन्स प्राप्त गर्न सफल भए भने मुलुकका कुना कुनामा रहेका हरेक नेपालीले सहजै रुपमा शेयरको खरिद विक्रि गर्न पाउने छन् भने काठमाडौँ केन्द्रीत शेयर बजार देशब्यापी हुनेछ ।

 

Skip This
Skip This
Logo