काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवडालाई पुनः नियुक्त गर्ने भएका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओलीले खतिवडालाई मन्त्रीमा निरन्तरता दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय सभा सदस्यका रूपमा निरन्तरता नपाउँदा संवैधानिक प्रावधान अनुसार खतिवडा पदमुक्त हुने भएकाले प्रधानमन्त्रीले पुनर्नियुक्तिका लागि सिफारिस गर्न लागेका हुन् । खतिवडाको राष्ट्रिय सभा सदस्यको पदावधि फागुन २० गते सकिँदैछ ।
संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्ने प्रावधान छ । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि संवैधानिक प्रावधान अनुसार खतिवडाको पद समाप्त हुने भएकाले उनलाई नै अर्थमन्त्रीमा निरन्तरता दिनुपरे पुनर्नियुक्तिका लागि प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने बताए ।
कान्तिपुरबाट





























प्रतिक्रिया