काठमाडौं ।
पछिल्लो दुई महिनादेखि लगातार रुपमा निर्माण सामाग्रीको मूल्य ६० प्रतिशत भन्दा धेरैले बढेको थियो । विकास निर्माणको सिजनको समयमा नै सामाग्रीको मूल्य बढ्नाले उपभोक्ता मारमा परेका छन् ।
तर पछिल्ला केही दिनदेखि उद्योगी तथा व्यवसायीहरुको चर्को दबावपछि विशेष गरि फलामे डण्डी तथा स्टीलको मूल्यमा गिरावट आएको छ । व्यवसायीहरुले सरकारलाई निर्माण सामग्रीको मूल्य घटाउन आग्रह गर्ने तथा निर्माण सामाग्रीको मूल्य नघटाए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए ।
चौतर्फीरुपमा ग्रील स्टिल व्यवसायी महासंघ तथा निर्माण व्यवसायी महासंघको चर्को विरोधपछि फलामे छड उद्योगीहरुले छड तथा स्टिलका वस्तुको मूल्य १५ रुपैयाँले घटाएका छन् । उद्योगी व्यवसायीहरुले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले आफूले पनि बढाएको र अहिले अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेकोले नेपालमा पनि केही मूल्य घटेको बताएका छन् ।
विकास निर्माणको सिजनमा नै व्यापारीहरुले कार्टेलिङ गरेर निर्माण सामाग्रीको मूल्य बढाएकाले मूल्य बढाउनुको वैज्ञानिक कारण नभएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले बताए । अहिले बजारमा फलामे छड तथा गिट्टी वालुवामा थोरै मूल्य गिरावट आएको उनले जानकारी दिए ।
विगतदेखि नै कार्टेलिङ गरेर मूल्य बढाएको भोग्दै आएका छौं । यस्तो हुनुमा विगतमा सरकारले छड आयातमा १५ प्रतिशत भन्सार लगाउँदै आएकोमा अहिले बढाएर ३० प्रतिशत पुर्याएकाले पनि सधैं व्यवसायीहरुले मूल्य बढाइ रहेका छन् । उनले भने, ‘अब सरकारले व्यवसायीक बातावरण बनाउनका लागि तथा मूल्यबृद्धि नियन्त्रणका लागि भए पनि भन्सार शुल्क घटाउनु पर्छ ।’ सबै निर्माण सामाग्रीको मूल्य बढेकाले बजारमा उपभोक्ताले सामाग्री नै किन्न छोडेपछि माग घटेकाले पनि मूल्यमा गिरावट आएको उनको भनाइ छ ।
यसअघि बजारमा प्रतिकेजी ८५ रुपैयाँसम्म पर्ने डण्डीको मूल्य अहिले ७७ रुपैंयाँमा झरेको अध्यक्ष सिंहले बताए । अन्तर्राष्ट्रिय बजारमा ५ प्रतिशतले बढ्दा नेपाली बजारमा ३० प्रतिशतले मूल्य बढाएका थिए ।
त्यस्तै, पछिल्लो समय गिट्टी बालुवामा पनि टिपको एक, दुई हजार रुपैंयाँ घटेको छ । सिंहका अनुसार २२ हजारबाट एक्कासी मूल्य बढेर ३० हजार पुगेको गिट्टी, वालुवा अहिले २७ देखि २८ हजारमा आउन थालेको छ ।
यता ग्रिल तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले पनि केही दिन यता सामानको मूल्यमा स्थिरता देखिएको बताए । सबैको चौतर्फी दवावपछि उद्योगीहरु मूल्य बढाउन रोकिएको उनको भनाइ छ ।
सिमेण्टको मूल्य बोराको २५ रुपैंयाँले बृद्धि
अन्य निर्माण सामग्रीको मूल्य बढेर उपभोक्ता निराश बनिरहेको अवस्थामा सिमेण्टको मूल्य पनि बढ्न थालेको छ । केही दिनदेखि सिमेण्ट उत्पादक कम्पनीहरुले एक बोरामा २५ रुपैंयाँसम्म मूल्य बढाएका हुन् ।
कोरोना महामारीको प्रभावले सबै क्षेत्र ठप्प भएको अवस्थामा बजारमा माग नहुँदा उद्योगीहरुले बोरामा १०० रुपैयाँसम्म मूल्य घटाएका थिए । तर पछिल्लो समय विकास निर्माणका कामले गति लिन थालेकाले सिमेण्टको माग पनि बढ्न थालेको र उनीहरुले मूल्य बढाउन थालेका छन् । कोरोनाका कारण ७ महिनासम्म लकडाउन हुँदा भौतिक संरचना निर्माणको काम प्रायः ठप्प रहँदा सिमेण्टको माग घटेको थियो । उद्यागीहरुले सिमेण्टको उधारो कारोबार समेत बन्द गरेका थिए ।
सिमेण्ट उत्पादक संघका अनुसार अहिले ओपीसी सिमेण्टको फ्याक्ट्री मूल्य प्रतिबोरा ६७५ देखि ७ सय रुपैंयाँ र पिपिसी सिमेन्टको मूल्य प्रतिबोरा ४७५ देखि ५५० रुपैंयाँको पुगेको छ । नेपालमा सिमेण्ट वार्षिक उत्पादन क्षमता वार्षिक डेढ करोड टन रहेको छ । नेपालमा सिमेण्टको माग भन्दा आपूर्ति धेरै छ । नेपाली बजारमा सिमेण्टको माग वार्षिक एक करोड टन छ ।





























प्रतिक्रिया