प्रणय दिवस: गत वर्षकाे तुलनामा गुलाफकाे माग घट्यो

प्रणय दिवस: गत वर्षकाे तुलनामा गुलाफकाे माग घट्यो


काठमाडौं । विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसका लागि रातो गुलाफ फूलको आयात कम हुने भएको छ । बजार माग कम भएकाले रातो गुलाफ फूलको आयात कम हुने भएको हो ।

गत वर्ष एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएकामा यो वर्ष  एक करोड मूल्यको एक लाख २० हजार ‘स्टिम’ गुलाफ मात्र आयात गर्न लागिएको हो ।

बजारको माग कमी रहेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा कम परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । प्रणय दिवसमा खपत हुने एक लाख ५० हजार स्टिम गुलाफमध्ये एक लाख २० हजार बाहिरी देशबाट ल्याइने र ३० हजार स्वदेशमै उत्पादन हुने जनाइएको छ ।

एसोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार  नेपालमा वार्षिक २० करोडको गुलाफ फूलको कारोवार हुने गरेको छ । प्रणय दिवसकै लागि भने दुई करोडको कारोवार हुने गर्दछ । आन्तरिक उत्पादन ३० र बाह्य देशबाट आयात गरिने ७० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ताअघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई उपहारस्वरुप दिएर मनाउने गर्दछन् ।

नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले गुलावको खेती गर्दै आएका छन् ।  गुलाफबाहेक अन्य सजावट र तिहारमा प्रयोग गरिने फूल अहिले स्वदेशमै ९० प्रतिशत उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।

Logo