म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो

म्यानपावरको ठगीविरुद्ध उजुरी बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत आर्थिक वर्षको अघिल्लो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिका वैदेशिक रोजगारीका क्रममा म्यानपावर कम्पनी (संस्थागत) विरुद्धमा ठगीका उजुरी बढेको पाइएको छ । गत आवको सुरुका ६ महिनामा म्यानपावर विरुद्धका उजुरीको संख्या ५५४ बाट ३५ प्रतिशतले वृद्धि भएर चालू आवको सोही अवधिमा ७४८ पुगेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरको ठगीमा परी उजुरी गर्ने पीडितको बढेको हो ।

वैदेशिक रोजगार विभागको उजुरी तथा अनुसन्धान शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा गत वर्षको सुरुका ६ महिनामा ठगीमा परेको जनाउँदै ५५४ उजुरीकर्ताले १९ करोड ९८ लाख २६ हजार ७२० रुपैयाँ दावीसहित उजुरी दिएको विभागले जनाएको छ । यसैगरी चालू आर्थिक वर्षको सोही अवधिमा ठगीमा परेको भन्दै ७४८ जना युवाले २३ करोड ९१ लाख ५ हजार १९३ रुपैयाँ दाबी गरी उजुरी दिएका छन् । गत वर्षको तुलनामा दाबी रकममा पनि १९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

गत वर्षको तुलनामा उजुरीकर्ताको संख्या बढेसँगै रकममा ४ करोडको हाराहारीमा बढेको छ । सरकारले वैदेशिक रोजगारीको ठगीलाई कडाईका साथ अघि बढाएपछि न्याय पाउने अपेक्षासहित उजुरी र रकम दाबी गर्ने संख्या बढेको देखिन्छ । गत वर्ष उजुरी दिएका ५५४ मध्ये ८४ प्रतिशत अर्थात ३०१ जनाको दाबी उपर फरफारक भएको भने चालू आर्थिक वर्षको पुषसम्म ७८४ उजुरीकर्ता मध्ये ७५ प्रतिशत अर्थात ४२७जनाको उजुरी उपर फरफारक भएको छ । लगभग २४ करोड रुपैया ठगी भन्दै पीडितले बिभागमा दिएको उजुरीमध्ये चालू आवको ६ महिनामा ४ करोड २ लाख ७८ हजार रुपैया दाबी अनुसारको बिगो भराइएको छ । गत वर्ष भने ३ करोड दाबी बिगो भराईएको पाईएको छ । यो अवधिमा विभागले उजुरीका आधारमा पीडकबाट ५१ लाख ५० हजार जरिवाना रकम उठाएको छ ।

विगत ३ वर्षको तथ्यांक हेर्न हो भने वैदेशिक रोजगारीमा जाने व्यक्तिले वैदेशिक राजगारीको सिलसिलामा भएका ठगी तथा अपराधजन्य क्रियाकलापको उजुरीको औषत ३८ प्रतिशत मात्र फस्यौट भएको देखिन्छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई तोकिए बमोजिमको सेवा सुविधा प्राप्त नभएको, तोकिएभन्दा बढी शुल्क लिएको उजुरीमा मुद्दा धेरै दायर हुनेगरेको विभागले जनाएको छ ।
कारोबारबाट

Logo