काठमाडौं ।
धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले वृद्धि भएको छ । आइतबार उच्च अङ्कले वृद्धि भएको बजारले सोमबार पनि सोही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढेर एक हजार २७०.८६ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले बढेर २७६.२८ मा पुगेको छ ।
नेप्सेको उकालो यात्रासँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । कूल १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयर एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोबार भयो । नेप्से र कारोबार रकममा देखिएको वृद्धि सँगै बजार पूँजीकरणमा समेत सुधार देखिएको छ । नेप्सेका अनुसार सोमबार बजार पूँजीकरण १६ खर्ब २० अर्ब बराबरको रहेको छ ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहका शेयर ओरालो लागेका छन् भने दश उपसमूहका शेयर भने बढेका छन् । उत्पादन २.०६ र लघुवित्त १३.८९ ले घटेको छ । यस्तै, बैंकिङ १४.८१, व्यापार २५.१२, होटल १२.५९, विकास बैंक १२.५३, जलविद्युत् ४८.७, वित्त १०.८८, निर्जीवन बीमा ३९.०१, अन्य ६.९९, जीवन बीमा ५२.०७ र सामूहिक लगानी कोषको ०.०४ विन्दुले बढेको छ ।































प्रतिक्रिया