पर्यटन प्रवर्धन गरेर आर्थिक समृद्धि ल्याउँछौँ : अध्यक्ष दाहाल

पर्यटन प्रवर्धन गरेर आर्थिक समृद्धि ल्याउँछौँ : अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

सिन्धुली ।

सिन्धुलीबाट पनि ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुरुवात गरिएको छ । यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट भ्रमण वर्षको शुरुवात गरिएको हो । भ्रमण वर्ष यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीबाट शुरु भएको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।

ऐतिहासिकस्थल सिन्धुलीगढीको विकास गर्दै अध्यक्ष दाहालले पर्यटन क्षेत्रको विकास गरी नेपाललाई आर्थिक समृद्धिमा ल्याउन सरकार सफल हुने दावी गरे । उनले वर्तमान सरकारले नेपालका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदामा लगानी गरी नेपाललाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गरी आर्थिक समृद्धि ल्याउन लागिपरेको बताए । नेपालमा पर्यटनको क्षेत्रको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसार गर्नकै निम्ति भ्रमण वर्ष मनाउन थलिएको अध्यक्ष दाहालले उल्लेख गरे ।

उनले पौराणिककालदेखि नेपाल तपोभूमि, पवित्रभूमि, ज्ञानभूमिका रूपमा विश्व प्रसिद्ध रहेको बताए । उनले भने, “नेपालमा धार्मिक रूपमा पशुपति मन्दिर र ऐतिहासिक स्थलमा सिन्धुलीगढी विश्व प्रसिद्ध रहेको छ । यस अर्थ आज काठमाडौँको रङ्गशाला र सिन्धुलीगढीबाट भ्रमण वर्षको शुभारम्भ गरेका छौं ।”

नेपालमा वार्षिक १० लाखबाट कम्तीमा पनि २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताउँदै अध्यक्ष दाहालले नेपालमा अहिले २५ लाख पाहुनालाई व्यवस्थित आवास तथा अन्य सुविधासहित स्वागत गर्न सकिने अवस्थामा हामी रहेको समेत बताए ।

अध्यक्ष दाहालले सरकारले राम्रो बजेट लगानी गरेर पर्यटन विकास र आर्थिक समृद्धिको केन्द्रका रुपमा ऐतिहासिकस्थलका रुपमा विकास गर्ने बताए । आफूले सिन्धुलीगढीमा आएर शान्ति सम्झौता टुङ्ग्याउने, हतियार व्यवस्थापन र सेना समायोजन गर्ने सङ्कल्प गरेको स्मरण गर्दै उनले आज त्यो सङ्कल्प पूरा भएको समेत बताए ।

नेपालका धेरै ऐतिहासिकस्थलहरु रहेको बताउँदै अध्यक्ष दाहालले रोल्पा–रुकुममा गुरिल्ला ट्रेल पर्यटकीयस्थल बनाउन थालिएको समेत बताए । नेपालका ऐतिहासिकस्थल र घटनाक्रमहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्न सदुपयोग गर्न सक्नुपर्नेसमेत बताए ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले लिपुलेक, कालापानी क्षेत्र, लिम्पियाधुरा लगायतका स्थानमा पिल्लर सारिएको भन्ने आएको र सो विषयप्रति सरकार संवेदनशील बनेको समेत बताए । उनले भौगोलिक अखण्डताको रक्षाका निम्ती, जस्तोसुकै त्याग गर्न पनि आफूहरु तयार रहेको बताए।

उनले भने, “हामीलाई कसैको एक इन्च पनि जमिन चाहिँदैन । यस अर्थ हामी हाम्रो एक इन्च पनि भूभाग छाड्दैनौँ ।” उनले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक तवरबाट समस्या समाधान गर्न पहल भइरहेको बताए । इतिहासमा लामो समयदेखि समाधान हुन नसकेका समस्याहरु अब हल हुने र इतिहासमा हाम्रा गुमेका कयौँ चीजहरुलाई प्राप्त गर्न सक्ने अनि सगरमाथाको देशका रुपमा विश्वमा नै एउटा वैभवशाली देशका रुपमा नेपाललाई चिनाउने यो सरकारको अठोट रहेको उनले बताए ।
रासस

Skip This
Skip This
Logo