राष्ट्रिय गौरवको आयोजना : आठ वर्षमा झण्डै ४५ प्रतिशत काम पूरा

राष्ट्रिय गौरवको आयोजना : आठ वर्षमा झण्डै ४५ प्रतिशत काम पूरा

केन्द्रबिन्दु
0
Shares

कैलाली ।

कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति आठ वर्षमा ४५ दशमलव ५ प्रतिशत भएको छ । वि.सं २०६६ मा कार्यालय स्थापना भई २०६८ देखि निर्माणकार्य शुरु भएको यो आयोजनाको अहिलेसम्म वित्तीय प्रगति ४४ दशमलव १८ प्रतिशत भएको आयोजना कार्यालयका सूचना अधिकारी एवं डिभिजनल इञ्जिनीयर प्रेम लासिवाले बताए ।

जिल्लाको पूर्वी सीमा कर्णाली नदी मुहान भएको यो आयोजनाको इन्टेक (मुहान) मा पानी नियन्त्रण गर्ने आठवटा ढोकाका साथै ‘लिङ्क क्यानल‘ निर्माणको काम पूरा भएको छ । मुहानमा चाहेको समयमा पानी छोड्ने र बन्द गर्नका लागि कम्प्युटर प्रणालीबाट स्वचालित उपकरण जडान गर्ने काम भइरहेको छ ।

इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूलनहर तथा ‘सेटलिङ्क बेसिन‘को काम पनि पूरा भएको छ । लम्कीको नहर विस्तारतर्फको काम बाहेक मूलनहर र फिडर नहरको काम पूरा भएको छ । मूलनहरको दक्षिणतर्फको फिडर नहर दश दशमलव ५० किलोमिटर लामो छ ।

यस्तै लम्कीतर्फको पथरैयासम्मको विस्तार नहर १४ दशमलव ६५ किलोमिटर लामो रहेकोमा छ किलोमिटर लामो पक्की नहर निर्माण पूरा भइसकेको छ । लम्की विस्तारतर्फको बाँकी भागमा निर्माण गर्नुपर्ने नहरका संरचनाका लागि सो क्षेत्रको नम्बरी जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । ऐलानी जग्गाको हकमा सम्बन्धितलाई राहत दिने प्रक्रिया अघि बढाइएको छ ।

दक्षिण तर्फको फिडर नहरमध्ये रानीको इन्टेकसम्मको नहर निर्माण पूरा भएको छ । दक्षिण तर्फको फिडर नहरको भागमा निर्माणाधीन चार दशमलव ७१ मेगावाटको विद्युत् आयोजना चालू वर्षमा निर्माण पूरा गर्ने लक्ष्य छ ।

सिञ्चित क्षेत्रको बचावटका लागि उक्त क्षेत्रका कर्णाली, पथरैया, रोरा, चोरी, चरेला र मोहना नदीका आवश्यक ठाउँमा तटबन्धन निर्माणको काम भइरहेको छ । बलचौरको मुक्त कमैया बस्ती हुँदै आयोजनाको मूलनहर निर्माण गर्न रेखाङ्कन गरिएपछि शुरुको अवस्थामा नहर निर्माण अघि बढाउन केही समस्या उत्पन्न भएको थियो ।

उक्त क्षेत्रमा बसोबास गराइएका मुक्त कमैयालाई भने जग्गाको सोधभर्ना दिई अन्यत्र पुनःस्थापित गराई निर्माण अघि बढाइएको थियो । आयोजनाको मूलनहरको रेखाङ्कनमा परेको मुक्त कमैया बस्तीको स्थानान्तरण, रुख कटानीको प्रक्रियामा भएको ढिलाइलगायतका कारण आयोजना निर्माणकार्य ढिलो गरी शुरु भएको थियो ।

आयोजनाको निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकासहित साविकका पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा गाविसको झण्डै २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।

डिभिजनल इञ्जिनीयर लसिवाले सिँचाइ हुने क्षेत्र थप विस्तार गर्नुपर्ने अवस्थामा आयोजनाको निर्माण पूरा हुने अवधि पनि थपिनसक्ने बताए । अयोजनाको निर्माणलागत नेपाल सरकार, विश्व बैंकको ऋण र उपभोक्ताको श्रमदानसमेत कूल २७ अर्ब ७० करोड २४ लाख रहेको छ ।

आयोजना निर्माणसँगै उक्त क्षेत्रमा कृषि विकास सम्बन्धी गतिविधि पनि भइरहेको छ । विश्व बैंकतर्फको आयोजनाको पहिलो चरणको काम सन् २०१२ बाट शुरु भई सन् २०१७ सम्म भएकोमा दोस्रो चरणको काम सन् २०१८ बाट शुरु भई २०२३ मा सकिने जनाइएको छ ।

विश्व बैंकले आयोजना निर्माणका लागि पहिलो चरणका लागि अनुदान दिएकोमा दोस्रो चरणको काममा ऋण मात्र दिएको डिभिजनल इञ्जिनीयर लसिवाले बताए । शुरुको अवस्थामा यो आयोजना आर्थिक वर्ष २०७३/७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको थियो ।

Logo