प्रिमियर इन्टरनेशनल विद्यालयद्वारा ४ संस्थालाई सहयोग रकम हस्तान्तरण

प्रिमियर इन्टरनेशनल विद्यालयद्वारा ४ संस्थालाई सहयोग रकम हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं l

प्रिमियर इन्टरनेशनल विद्यालय सातदोबाटो ललितपूरले विभिन्न ४ संस्थालाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ । विद्यालयले विभिन्न तहमा रहेर समाजिक कार्यमा सक्रिय संस्थाहरूलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उक्त रकम बिहिबार भच्र्युअल माध्यम अर्थात् ‘जुम मिटिङ’ मार्फत सम्बन्धीत संस्थाहरूलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा ‘जुनकिरी नेपाल’, ‘संगालो’, ‘राष्ट्रिय आविष्कार केन्द्र’ र ‘फिट द हंग्री नेपाल’ संस्थाका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।

वैज्ञानिक आविष्कार लगायतका विविध क्षेत्रमा सेवा सहयोग उपलब्ध गराउँदै आएको र देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउने कार्यमा लागेको राष्ट्रिय आविष्कार केन्द्रले प्राप्त रकमबाट २७२ वटा पुनः प्रयोग गर्न मिल्ने ‘फेस सिल्ड’ तयार गरी विभिन्न अस्पताललाई प्रदान गर्ने उद्देश्य राखेको छ । जसले, कोभिड–१९ का विरामीहरुलाई उपचार गर्न महत्वपूर्ण सहयोग पुग्ने संस्थापक महावीर पुनको भनाई छ ।

यस्तै जुनकिरी नेपालले प्राप्त रकमबाट सीमान्तकृत समुदायका विद्यार्थीहरुलाई पठनपाठनका सामाग्रीहरु प्रदान गर्ने जनाएको छ । अर्को सामाजिक संस्था ‘संगालो’ले पनि प्राप्त रकमबाट नगरकोट स्थित जनकल्याण विद्यालयलाई प्राथमिक उपचार तथा पाठ्यसामग्री प्रदान गर्ने उद्देश्य राखेको जानकारी गराएको छ । ‘संगालो’ प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयमा अध्ययन गरिसकेका विद्यार्थीहरुद्वारा स्थापित संस्था समेत हो ।

यसैगरी ‘फिट द हंग्री नेपाल’ नामक सामाजिक संस्थाले प्राप्त सहयोग रकमले अछामको साँफेबगर नगरपालिकाका २५ परिवारलाई कम्बल र १० किलो चामल प्रतिव्यक्तिका दरले सहयोग गर्न सक्ने जनाएको छ ।

हस्तान्तरित रकम करिव एक वर्षअघि प्रिमियर अन्तर्राष्ट्रिय विद्यालयबाट अध्ययन गरिसकेका विद्यार्थीहरूले उपत्यकाका २ सय विद्यालयको सहभागितामा आयोजित ‘प्रिमियर मोडल युनाइटेड नेसन’ कार्यक्रमबाट संकलित रकम भएको आयोजित कार्यक्रमका महासचिव आर्यन श्रेष्ठले जानकारी दिए ।

बिहिबारको भच्र्युअल कार्यक्रममा सम्बोधन गर्दै डाक्टर महावीर पुनले विद्यार्थीहरुले गरेको सहयोग कार्य अत्यन्तै अभूतपूर्व रहेको भन्दै धन्यवाद दिएका थिए । यस्तै विद्यालयका प्रधानाध्यापक विशाल क्षेत्री तथा कार्यकारी निर्देशक राजेश शर्माले आयोजक टोलीलाई धन्यवाद ज्ञापन गर्दै समाजसेवाको कार्यको निरन्तताका लागि हौसला प्रदान गरेका थिए ।

Logo